वैदेशिक रोजगारी त्यागेर गाउँमै बाख्रापालनमा जुटिन् अरुणा

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (0.11388889, 0.27239582);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;

मन्थली (रामेछाप) । रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसी वैदेशिक रोजगारी त्यागेर गाउँमै बाख्रापालन व्यवसायमा सक्रिय भएकी छन् । उनले चार वर्ष बेलायत र ११ वर्ष दुबई तथा कतारमा काम गरेपछि आफ्नै देशमा केही गर्ने उद्देश्यसहित गाउँ फर्केर पशुपालन सुरु गरेकी हुन् ।

अरुणाले गाउँ फर्किएपछि करिब २० लाख रुपैयाँ लगानी गरी आधुनिक बाख्रा खोर निर्माण गरेकी छन् । बाख्रापालनसँगै कुखुरा, गाईभैँसी, माहुरीपालन र कफी खेती गर्ने योजना पनि रहेको उनले बताइन् ।

“अरूको लागि मात्र काम गर्नुभन्दा आफ्नै ठाउँमा केही गरौँ भन्ने सोचले यो पेशा रोजेकी हुँ,” उनले भनिन् । विसं २०८१ मा व्यवसाय सुरु गरेकी उनले हालसम्म कुनै सरकारी वा गैरसरकारी सहयोग नपाएको गुनासो गरिन् । यद्यपि, स्थानीय पशु स्वास्थ्य शाखाबाट प्राविधिक सुझाव पाइरहेको उनले उल्लेख गरिन् ।

उनका बुबा चित्र केसी छोरीको निर्णयबाट निकै खुसी छन् । “अन्य छोरीहरू सहरमै छन्, तर विदेशबाट फर्किएर गाउँमै कृषि पेशामा लागेको देख्दा गर्व लागेको छ,” उनले भने ।

गाउँमा काम गर्ने जनशक्तिको अभाव भए पनि अरुणा निरन्तर आफ्नो व्यवसायमा लागिरहेकी छन् । “मेहनत गरिरहेकी छु, हिम्मत छोडेकी छैन, सफलता पाउने विश्वास छ,” उनले भनिन् ।