एजेन्सी । पछिल्लो समय सुगर, उच्च रगतको प्रेसर, दम लगायत नसर्ने तथा दीर्घ रोगीहरूको संख्या लगातार बढ्दो क्रममा छ। विशेषज्ञहरूका अनुसार धेरै दीर्घ रोगको प्रमुख कारण मोटोपन हो। बढ्दो सहरीकरण र परिवर्तित जीवनशैलीले मोटोपनलाई अझ गम्भीर बनाएको छ।
तौल घटाउन जीवनशैलीमा सुधार, उपवास र डाइटिङ (जस्तै किटो डाइट) प्रभावकारी उपाय हुनसक्छन्। तर यी उपायको प्रभाव र जोखिम फरक–फरक हुन्छ।
१. किटो डाइट
किटो डाइट मुख्यतया बोसोमा आधारित हुन्छ। रातो मासु, दूधजन्य खानेकुरा जस्ता सेचुरेटेड फ्याट बढी खाँदा दीर्घ रोग र कोलेस्ट्रोलको समस्या आउन सक्छ। त्यसैले तौल घटाउन प्रभावकारी भए पनि यसमा स्वास्थ्य जोखिम पनि रहन्छ। विशेषज्ञहरूले उपयुक्त व्यक्तिको लागि मात्र किटो डाइट सिफारिश गर्ने गर्दछन्।
२. उपवास
उपवास परम्परागत र धार्मिक अभ्याससँग जोडिएको छ र वैज्ञानिक दृष्टिले पनि उपयोगी मानिन्छ। २४ घण्टामा १६ घण्टा नखाने र ८ घण्टा खाने “इंटरमिटेन्ट फास्टिङ” शैलीलाई नयाँ अनुसन्धानले प्रभावकारी ठहराएको छ। साँझ चाँडो खाना खाने र बिहान ढिलो खाने अभ्यासले पनि तौल घटाउन मद्दत पुर्याउँछ।
३. जीवनशैली सुधार
सबैभन्दा सुरक्षित र दीर्घकालीन उपाय भनेको जीवनशैली सुधार हो। यसका लागि खानाको मात्रा र प्रकार, दैनिक गतिविधि, हिँडाइ–दौडाइ, बस्ने र उभिने समयको हिसाब राख्नु जरुरी छ।
उदाहरणका लागि, यदि एकदिन चार रोटी खाने योजना भए, तीन रोटी खाने, हिँडाइ ४० मिनेटको सट्टा ५० मिनेट हिँड्ने, वा दुई घण्टा बस्ने सट्टा उभिएर काम गर्ने अभ्यासले क्यालोरी खर्च बढाउँछ। यस्तो अभ्यास निरन्तर कम्तीमा ६ महिनासम्म जारी राख्दा निश्चित रूपमा तौल घट्ने देखिएको छ।
विशेषज्ञहरू भन्छन्, “किटो डाइट र उपवास प्रभावकारी भए पनि जोखिमयुक्त हुन सक्छ; जीवनशैली सुधार सबैका लागि सुरक्षित र दीर्घकालीन उपाय हो।”














