म्याग्दी । रोजगारीका लागि दुई दशक विदेश बसेका धवलागिरि गाउँपालिका-५, मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्यालले सहरको सुविधायुक्त जीवन त्यागेर गाउँमै भेडाबाख्रा पालन सुरु गरेका छन् ।
विदेशमा कमाएको पूँजीले पोखरामा आरामदायी जीवन बिताउन सकिने अवस्था हुँदाहुँदै पनि उनले आफ्नै जन्मथलोमा केही गर्ने सोचका साथ फर्किएको बताए । “सबैजना गाउँ छाडेर जाने बेला, कोही त गाउँमै बसेर केही गर्नुपर्छ भन्ने लाग्यो,” उनले भने ।
उनले ‘मल्कवाङ भेडाबाख्रा फार्म’ सञ्चालन गर्दै करिब छ सय भेडा पालिरहेका छन् । मौसमअनुसार गोठ सार्ने परम्परागत प्रणाली अपनाउँदै उनी हिउँदमा बेँसी र बर्खामा लेक क्षेत्रमा भेडा चराउन लैजान्छन् । असोजदेखि फागुनसम्म बेँसीमा राखिने गोठ वैशाखपछि लेकतर्फ सारिन्छ र साउन-भदौमा धौलागिरि हिमालको बुकी क्षेत्रमा पुर्याइन्छ ।
एक वर्षमा करिब ३०० भेडाबाख्रा बिक्री गर्ने उनले वार्षिक ३०-४० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । करिब एक करोड लगानीमा सञ्चालन गरिएको फार्मले उनलाई मात्र होइन, गाउँका थप तीन जनालाई पनि रोजगारी दिएको छ ।
मासु तथा धार्मिक प्रयोजनका लागि खसीबोका बिक्री हुने र उत्पादन भए बजारको अभाव नहुने उनको अनुभव छ । भेडाबाख्रालाई चिसोबाट जोगाउन स्थानीय तहले गोठ निर्माणमा सहयोग गरेको छ भने पशु सेवा कार्यालयले निःशुल्क खोप उपलब्ध गराउँदै आएको छ ।
भेडाबाख्राको सुरक्षाका लागि उनले पाँच वटा कुकुर र ढुवानीका लागि दुई वटा घोडा पनि पालेका छन् । यद्यपि चरन क्षेत्रको अभाव, वन्यजन्तुको आक्रमण र बदलिँदो मौसम यस व्यवसायका मुख्य चुनौती रहेको उनले बताए ।















