यी जलविद्युत कम्पनीले दिन सक्छन् १० प्रतिशत बढी लाभांश

काठमाडौं । जलविद्युत कम्पनीहरू नाफामा गए पनि सबैले सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने अवस्थामा हुँदैनन्। कम्पनीको नाफा, सञ्चित आम्दानी, जगेडा तथा अन्य इक्विटीमा रहेका रकमको प्रकृति फरक हुने भएकाले वास्तविक लाभांश क्षमता पहिचान गर्न कठिन हुने गरेको छ।

विशेषगरी जलविद्युत कम्पनीहरूको वित्तीय विवरणमा एकरूपता नहुँदा लाभांश वितरण गर्न सकिने रकम स्पष्ट रूपमा छुट्याउन समस्या देखिन्छ। कतिपय कम्पनीले वितरणयोग्य रकमलाई रिटेन अर्निङ शीर्षकमा देखाएका हुन्छन् भने कतिपयले त्यस्तो रकमलाई अन्य इक्विटी वा रिजर्भ एन्ड सरप्लसमा राखेका हुन्छन्।

चार्टर्ड एकाउन्टेन्ट (सिए) अरूण राउतका अनुसार अन्य इक्विटी वा सञ्चित तथा जगेडा कोषमा सेयर प्रिमियम, अनरियलाइज्ड प्रोफिटलगायतका रकम पनि समावेश हुन सक्छन्। त्यसैले त्यहाँ देखिएको सम्पूर्ण रकमलाई लाभांश वितरण गर्न मिल्ने रकमका रूपमा बुझ्न नहुने उनको भनाइ छ।

हालै वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीमध्ये लाभांश वितरण गर्न सकिने रकम स्पष्ट रूपमा देखाएका मकर जितुमाया सुरी हाइड्रोपावरचिलिमे हाइड्रोपावरलाई उदाहरणका रूपमा लिन सकिन्छ।

मकर जितुमाया सुरी हाइड्रोपावर

मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर कारोबार २०८० वैशाखदेखि दोस्रो बजारमा सुरु भएको हो। कम्पनीको सेयर मूल्य हालसम्म अधिकतम ८४५ रुपैयाँसम्म पुगेको थियो। बुधबार भने कम्पनीको सेयर ४१५ रुपैयाँमा कारोबार भएको छ।

आर्थिक वर्ष २०८१/८२ देखि नाफामा जान थालेको कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ७ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको ४ करोड ६६ लाख रुपैयाँको तुलनामा यसको नाफा करिब ६७ प्रतिशतले बढेको हो।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा भने ठूलो परिवर्तन देखिएको छैन। अघिल्लो वर्ष ३८ करोड रुपैयाँ रहेको विद्युत् बिक्री आम्दानी यसपटक करिब ३९ करोड रुपैयाँ पुगेको छ। वित्तीय लागत घट्दा नाफामा सुधार आएको हो। ब्याज खर्च १८ करोड ३१ लाख रुपैयाँबाट घटेर १५ करोड रुपैयाँमा झरेको छ।

डोल्मा इम्प्याक्ट फन्डमार्फत वैदेशिक लगानी भित्र्याएको मकरले सुरी खोला र माथिल्लो सुरी खोला गरी ७–७ मेगावाटका दुई आयोजना सञ्चालन गरिरहेको छ। विद्युत् खरिद दरमा भएको वृद्धिले समेत आम्दानीमा केही सुधार ल्याएको कम्पनीले जनाएको छ।

कम्पनीको दीर्घकालीन ऋण दायित्व हाल करिब १ अर्ब ७८ करोड रुपैयाँ छ। हालसम्म लाभांश वितरण नगरेको मकरले यसपटक रिटेन अर्निङमा करिब ११ करोड रुपैयाँ देखाएको छ।

कम्पनीको चुक्ता पुँजी करिब ७६ करोड रुपैयाँ रहेकाले उक्त रिटेन अर्निङलाई आधार मान्दा मकरले सैद्धान्तिक रूपमा करिब १४.६१ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ। कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ रहेको छ।

चिलिमे हाइड्रोपावर

चिलिमे हाइड्रोपावरको सेयर कारोबार २०६२ साल जेठदेखि हुँदै आएको छ। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य ४५० रुपैयाँदेखि ५३० रुपैयाँसम्म पुगेको छ। बुधबार कम्पनीको सेयर मूल्य एक रुपैयाँ घटेर ४८१ रुपैयाँमा बन्द भएको छ।

नियमित रूपमा लाभांश वितरण गर्दै आएको चिलिमेले पछिल्ला पाँच वर्षमा औसत १३.८ प्रतिशत वार्षिक लाभांश दिएको छ। यसपटक भने कम्पनीको वित्तीय विवरणअनुसार करिब २४ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको छ।

चिलिमेको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ छ भने रिटेन अर्निङमा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ।

आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ७२ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको ६७ करोड रुपैयाँको तुलनामा नाफा ७.४६ प्रतिशतले बढेको हो। विद्युत् बिक्रीबाट हुने आम्दानीसमेत १ अर्ब १२ करोड रुपैयाँबाट बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

खर्च घटेका कारण कम्पनीको नाफामा सुधार आएको देखिन्छ। चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसबाट यसपटक लाभांश प्राप्त नभए पनि चिलिमे टावरको भाडाबाट आम्दानी भएको छ। कम्पनीको अन्य आम्दानी भने ३ करोड ७० लाख रुपैयाँबाट घटेर २ करोड ७८ लाख रुपैयाँमा आएको छ।

चिलिमेको आफ्नै २१.२२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना सञ्चालनमा छ। साथै सहायक तथा लगानी रहेका कम्पनीमार्फत सान्जेन, मध्य–भोटेकोशी र रसुवागढीका आयोजनामा समेत कम्पनीको सहभागिता छ।

१०२ मेगावाटको मध्य–भोटेकोशीमा चिलिमेको ३७ प्रतिशत, १११ मेगावाटको रसुवागढीमा ३२ प्रतिशत र सान्जेन जलविद्युत् कम्पनीमा ३९.३६ प्रतिशत स्वामित्व रहेको छ। सान्जेनले कुल ५७ मेगावाटका दुई आयोजना सञ्चालन गरिरहेको छ।

त्यस्तै, चिलिमे ८७ मेगावाटको सेती नदी–३ अर्धजलाशय, ८१ मेगावाटको बूढीगण्डकी प्रोक र ४५ मेगावाटको चुमचेत स्यारखोला आयोजनामा समेत अघि बढ्ने तयारीमा छ। तर सडक निर्माण तथा विद्युत् खरिद सम्झौता हुन नसकेका कारण केही आयोजनाको निर्माण सुरु हुन नसकेको कम्पनीले जनाएको छ।

हाल चिलिमेको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ रहेको छ।

लाभांश हेर्दा के बुझ्ने?

जलविद्युत् कम्पनीको नाफा मात्रै हेरेर लाभांश क्षमता निर्धारण गर्नु उपयुक्त हुँदैन। रिटेन अर्निङ, वितरणयोग्य नाफा, जगेडा तथा अन्य इक्विटीमा रहेका रकमको प्रकृति पनि हेर्न आवश्यक हुन्छ।

त्यसैले कुनै कम्पनीको रिजर्भ वा सरप्लस ठूलो देखिँदैमा त्यति नै रकम लाभांशका रूपमा वितरण गर्न मिल्छ भन्ने हुँदैन। वास्तविक लाभांश क्षमता पत्ता लगाउन कम्पनीको वित्तीय विवरणमा उल्लेख भएको वितरणयोग्य रकम र नियामकीय व्यवस्थालाई समेत अध्ययन गर्नुपर्ने हुन्छ।

मकर जितुमाया सुरी र चिलिमे हाइड्रोपावरको पछिल्लो वित्तीय विवरणले भने यी दुई कम्पनीमा लाभांश वितरणको सम्भावना रहेको देखाएको छ। तर अन्तिम लाभांश कति दिने भन्ने निर्णय सम्बन्धित कम्पनीको सञ्चालक समिति, साधारणसभा तथा लागू नियामकीय व्यवस्थाअनुसार हुनेछ।