कोरोना संकटपछि गाउँ फर्किएर सफल किसान बनेका बलरामको कमाई मासिक २ लाख बचत

गलकोट (बागलुङ) । कोरोना महामारीका कारण १२ वर्षदेखि बागलुङ बजारमा सञ्चालन गर्दै आएको मिष्टान्न तथा होटल व्यवसाय बन्द भएपछि बलराम सापकोटाले गाउँ फर्केर कृषि तथा पशुपालन व्यवसाय सुरु गरे । महामारीको कठिन अवस्थालाई उनले अवसरमा बदल्दै अहिले सफल किसानका रूपमा परिचित भएका छन् ।

२०७६ सालदेखि व्यावसायिक रूपमा कृषि र पशुपालनमा लागेका सापकोटाले हाल करिब एक करोड रुपैयाँ लगानी गरेका छन् । बागलुङ नगरपालिका-५ मालिकास्थित आफ्नो तथा भाडाको गरी ३६ रोपनी जग्गामा उनले गाई-भैँसी पालन र फलफूल खेती विस्तार गरेका हुन् ।

हाल उनीसँग ११ वटा गाई र १३ वटा भैँसी छन्, जसबाट दैनिक करिब १५० लिटर दूध उत्पादन हुन्छ । उक्त दूध बागलुङ दुग्ध उत्पादन संस्थामार्फत बिक्री हुँदै मासिक करिब ४ लाख ५० हजार रुपैयाँ आम्दानी भइरहेको उनले बताए । खर्च कटाएर करिब २ लाख रुपैयाँ बचत हुने र सोही रकमलाई फलफूल खेती विस्तारमा लगानी गरिरहेको उनको भनाइ छ ।

सापकोटाले आफ्नो फार्ममा १,००० सुन्तला, ११० कागती र ५० ओखरका बिरुवा रोपेका छन् । मल्चिङ प्रविधिबाट सुन्तला खेती गर्दै उनले झार नियन्त्रण, चिस्यान संरक्षण र माटोको उर्वराशक्ति कायम राख्ने काम गरेका छन् । साथै, सिँचाइका लागि गहुँत र लिफ्टिङ प्रणाली प्रयोग गरी पानी करिब २०० मिटर माथिसम्म पुर्‍याइएको छ ।

हाल उनको फार्ममा चार जना स्थानीयले रोजगारी पाएका छन् । उनी सुन्तला पकेट क्षेत्र बनाउने लक्ष्यसहित काम गरिरहेको बताउँछन् । “कोरोनाले एउटा व्यवसाय बन्द गरायो तर अर्को अवसर खोल्यो,” सापकोटाले भने, “गाउँमै मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन चाहन्छु ।”