म्याग्दी । धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसमा किसानहरूले परम्परागत अन्नबाली छोडेर व्यावसायिक जडीबुटी खेतीतर्फ आकर्षण देखाएका छन् । स्थानीय किसान बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवा खेती सुरु गरेका छन् । उनले इलामबाट प्रतिगोटा रु ३० का दरले बिरुवा ल्याएर रोपेका हुन् ।
रोकाका अनुसार यस वर्ष करिब १०० किलोग्राम सतुवा उत्पादन भएको छ । तर केही वर्षअघि प्रतिकिलो रु १६ हजारसम्ममा बिक्री हुने सतुवाको मूल्य घटेर अहिले करिब रु पाँच हजारमा सीमित हुँदा बजार समस्या देखिएको छ । मूल्य घटेकै कारण उत्पादन बिक्री गर्न कठिन भएको उनले बताए ।
खेती विस्तार गर्ने क्रममा रोकाले १० हजार नयाँ बिरुवा पनि तयार पारेका छन् । यसअघि मकै, गहुँ, कोदो, उवा र जौँ खेती हुने जमिनमा अहिले सतुवा लगाइएको छ । समुद्री सतहबाट करिब २,३०० मिटर उचाइमा रहेको माकुसको हावापानी र भूगोल सतुवा खेतीका लागि उपयुक्त रहेको उनको भनाइ छ ।
खेतीसँगै रोकाले व्यावसायिक बाख्रापालन पनि गर्दै आएका छन् र हाल ५० भन्दा बढी बाख्रा पालेका छन् । गाउँपालिकाले गत वर्ष सतुवा खेती गरिएको बारीमा घेराबार गर्न रु एक लाख अनुदान सहयोग उपलब्ध गराएको वडाध्यक्ष अमर छन्त्यालले जानकारी दिए ।
सतुवाको बिरुवा सुरक्षित राख्न प्लास्टिक टनेल निर्माण गर्न सके तापक्रम सन्तुलन राख्न र हिउँ, असिना तथा रोगकीराबाट जोगाउन सहयोग पुग्ने रोकाको अपेक्षा छ । औषधीय रूपमा प्रयोग हुने सतुवा पेट र घाँटी दुख्दा, सर्पले टोकेको तथा विष सेवन गरेको अवस्थामा प्रयोग गर्ने गरिन्छ।

















