सर्वोत्तम पेन्ट्सको कतिमा भयो पहिलो कारोबार?

काठमाडौं । सर्वोत्तम पेन्ट्सको सेयर कारोबार आज (बिहीबार) देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ।

कम्पनीको सेयर स्पेसल प्रि–ओपन सेसनमा प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। यही मूल्यलाई आधार मानेर कम्पनीको नियमित कारोबारसमेत सुरु भएको छ।

कम्पनीको सेयर ‘एसएपिआइएल (SAPIL)’ संकेतमा कारोबारका लागि खुला गरिएको हो। कम्पनीको आईपीओ बुधबार नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेमा कम्पनीको सर्वसाधारणमा वितरण गरिएको ८ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरूले लगानी गरेको २५ लाख ५० हजार कित्ता गरी कुल ३४ लाख कित्ता सेयर सूचीकृत भएको छ।

कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य रेञ्ज पाएको थियो। नेप्सेले कम्पनीको नेटवर्थका आधारमा पहिलो कारोबारका लागि अधिकतम तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने व्यवस्था रहेको छ।

सर्वोत्तम पेन्ट्सको सेयर कारोबार सुरु भएसँगै कम्पनीका लगानीकर्ताले दोस्रो बजारमा सेयर खरिद–बिक्री गर्न सक्ने भएका छन्।