बाजुरा । परम्परागत कृषि प्रणालीमा गोरुको प्रयोगलाई निरन्तरता दिन तथा किसानलाई गोरु पालनतर्फ आकर्षित गर्न बाजुराका १५६ किसानलाई जनही पाँच हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको छ।
प्रविधि तथा कृषि यान्त्रिकीकरणको प्रयोग बढ्दै गएसँगै गोरु पाल्ने किसानको संख्या घट्न थालेपछि किसानलाई गोरु पालनमा प्रोत्साहित गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत उक्त रकम वितरण गरेको हो।
प्रोत्साहन रकम पाउने किसानमध्ये स्वामीकार्तिक खापर गाउँपालिकाका ३७, बडीमालिका नगरपालिकाका ३३, गौमुल गाउँपालिकाका ३२, बुढीनन्दा नगरपालिकाका १४, खप्तड छेडेदह गाउँपालिकाका १४, जगन्नाथ गाउँपालिकाका ११, हिमाली गाउँपालिकाका सात, त्रिवेणी नगरपालिकाका चार र बुढीगंगा नगरपालिकाका तीन जना रहेका छन्।
कार्यक्रमका लागि जिल्लाका नौवटै स्थानीय तहबाट ४०० किसानले आवेदन दिएका थिए। आवश्यक कागजात परीक्षणपछि २०० जना छनोट गरिए पनि असार २५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेका १५६ किसानलाई मात्र रकम उपलब्ध गराइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सिद्धराज जैशीले जानकारी दिए।
उनका अनुसार घरमा एक हल गोरु पालेर परम्परागत कृषि प्रणालीअनुसार खेती गरिरहेका किसान तथा जिल्लाका विकट स्थानीय तहलाई प्राथमिकतामा राखेर लाभग्राही छनोट गरिएको हो।
दुर्गम क्षेत्रका किसानलाई सदरमुकामसम्म आएर कागजात बुझाउन समस्या हुने भएकाले सम्बन्धित पालिकामै आवश्यक कागजात बुझाउने व्यवस्था गरिएको जैशीले बताए।
यस कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा बाजुरामा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
गोरु पालनलाई प्रोत्साहन गर्ने कार्यक्रमले परम्परागत कृषि प्रणाली संरक्षणसँगै ग्रामीण क्षेत्रमा पशुपालनलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

























