काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर सरेकाले हाल देशभर मौसममा बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका पहाडी तथा हिमाली भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभरको मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
विशेषगरी रातिको समयमा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा ‘अति भारी’ वर्षा हुन सक्ने चेतावनी दिइएको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका अन्य भूभागसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशलगायत बाँकी भूभागमा भने हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
भारी तथा अति भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहाव (डेब्रिस फ्लो) को जोखिम उच्च रहने महाशाखाले जनाएको छ। वर्षाका कारण कृषि तथा पशुपालन, पर्यटन, सडक तथा हवाई यातायात र अन्य दैनिक गतिविधि प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा आग्रह गरिएको छ।
महाशाखाले विशेषगरी नदी तथा खोलानालाको आसपास, पहिरोको जोखिम भएका क्षेत्र र कमजोर भौगोलिक संरचना भएका स्थानमा बसोबास गर्ने नागरिकलाई मौसम तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा हेर्न र जोखिम देखिएमा सुरक्षित स्थानतर्फ जानसमेत अनुरोध गरेको छ।




























