काठमाडौं । कथानक फिल्म ‘लज्जावती’ यही २९ साउनदेखि प्रदर्शनमा आउने तयारीमा छ। राजबहादुर सानेको निर्देशनमा बनेको फिल्म प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मका विषयवस्तु तथा कलाकारको भूमिकाबारे जानकारी गराएको छ।
अभिनेता मुकुन भुसालले नेपाली समाजको परिवेश र मौलिकपन बोकेको कथा भएकाले आफू फिल्ममा जोडिएको बताए। नेपाली समाजकै प्रेमकथामा आधारित भएकाले फिल्मले धेरै दर्शकलाई आफ्नै जीवनसँग जोडिन सक्ने उनको विश्वास छ।
यो फिल्म मुकुनको पहिलो लभस्टोरी फिल्मसमेत हो। उनले भने, ‘यो मेरो पहिलो लभस्टोरी कथा हो। यसअघि अन्य कथामा नै अभिनय गरिरहेको थिएँ। त्यसैले पनि सिनेमाप्रति उत्साहित छु।’
फिल्ममा मुकुन रिक्सा चालकको भूमिकामा देखिएका छन्। रिक्सा चलाएर जीवन गुजारा गर्ने उनको पात्र होटल साहुनीसँग नजिकिएपछि प्रेम तथा सम्बन्धको कथा अघि बढ्ने बताइएको छ।
प्रेममा पागल पात्रमा श्रीकृष्ण
अभिनेता श्रीकृष्ण निरौला फिल्ममा प्रेममा पागल हुने पात्रका रूपमा प्रस्तुत भएका छन्। ट्रेलर सार्वजनिक भएपछि आफ्नो भूमिकालाई दर्शकले सकारात्मक रूपमा लिएको उनले बताए।
‘मेरो चरित्रलाई धेरै शुभचिन्तकले मन पराउनुभएको छ। त्यसैले निकै आशावादी छु,’ उनले भने।
निरौलाका अनुसार जीवनमा पहिलोपटक प्रेममा परेको व्यक्तिले प्रेमसँग जोडिएका पीडा, संघर्ष र उतारचढाव कसरी सामना गर्छ भन्ने कुरा उनको पात्रमार्फत देखाइएको छ। उनले आफूले उक्त चरित्रलाई निकै माया गरेको र यो भूमिका निर्वाह गर्न लामो समयदेखि प्रतीक्षा गरेको बताए।
निरौलाले ‘सिटामोल’बाट अभिनयमा डेब्यू गरेका थिए।
मुख्य भूमिकामा जानुका र मेनुका
अभिनेत्री जानुका विश्वकर्मा र मेनुका माझीले पनि पहिलोपटक मुख्य भूमिकामा काम गर्न पाउँदा उत्साहित रहेको बताएका छन्।
जानुका फिल्ममा भट्टी साहुनीको भूमिकामा छिन्। उनी मुकुन भुसालको जोडीका रूपमा देखिनेछिन्।
लगानी उठाउनेमा निर्माता विश्वस्त
पत्रकार सम्मेलनमा लगानीकर्ता कमलप्रसाद शर्माले फिल्मको कथा मन परेकाले आफूले लगानी गरेको बताए। फिल्मका प्रचार सामग्रीमा दर्शकबाट आएको सकारात्मक प्रतिक्रिया र कथावस्तुलाई हेर्दा लगानी उठ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
फिल्ममा विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, दीपक थापा र काजल भुजेललगायत कलाकारको अभिनय रहेको छ।
प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिम केही सातादेखि फिल्मको प्रचारप्रसारमा व्यस्त छ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको ‘लज्जावती’लाई सौरभ वलीले प्रस्तुत गरेका हुन्। कमलप्रसाद शर्मा र सन्दीप रोकाया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्।






























