परिपक्व नभएका एभोकाडो नटिप्न धनकुटा नगरपालिकाको आग्रह

धनकुटा । एभोकाडो खान योग्य हुने गरी परिपक्व नहुँदै बजारमा बिक्री–वितरण हुन थालेपछि धनकुटा नगरपालिकाले काँचो तथा अपरिपक्व फल नटिप्न किसान तथा व्यवसायीलाई आग्रह गरेको छ ।

नगरपालिकाले अपरिपक्व एभोकाडो बजारमा पुग्दा फलको स्वाद र गुणस्तरमा असर पर्नुका साथै धनकुटाको एभोकाडोप्रति उपभोक्ताको विश्वाससमेत कमजोर हुन सक्ने जनाएको छ । त्यसैले परिपक्व र गुणस्तरीय फल मात्र टिपेर बिक्री–वितरण गर्न नगरपालिकाले अनुरोध गरेको हो ।

नगरपालिकाका अनुसार एभोकाडो परिपक्व भए–नभएको पहिचान गर्दा फल आफ्नो जातअनुसार उचित आकारमा पुगेको र पूर्ण रूपमा विकास भएको हुनुपर्छ । केही जातमा बोक्राको रङ हरियोबाट पहेँलो–हरियो हुँदै जाने भए पनि रङलाई मात्र आधार बनाएर परिपक्वता निर्धारण गर्न नहुने नगरपालिकाले जनाएको छ ।

फलको आकार, बाहिरी स्वरूप तथा अन्य परिपक्वताका संकेतलाई समेत आधार मानेर मात्र एभोकाडो टिप्नुपर्ने नगरपालिकाको सुझाव छ । फलभित्रको बिउको बोक्रा पातलो हुँदै गाढा खैरो रङमा परिवर्तन हुनु पनि परिपक्वताको एउटा संकेत रहेको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

एभोकाडो उत्पादनका लागि परिचित धनकुटामा अपरिपक्व फल बजारमा पठाउँदा तत्काल आम्दानी भए पनि जिल्लाको एभोकाडोको ब्रान्ड, बजार र उपभोक्ताको विश्वासमा दीर्घकालीन असर पर्न सक्ने नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले बताए ।

नगरपालिकाले एभोकाडो टिप्दा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ । फललाई तानेर वा झटारो हानेर नटिप्न तथा कैँची वा क्लिपर प्रयोग गरी डाँठसहित सावधानीपूर्वक काट्न सुझाव दिइएको छ ।

त्यसैगरी, टिपिएका फलमा चोटपटक, घर्षण वा दाग नलाग्ने गरी संकलन गर्न तथा फललाई भुइँमा नखसाल्न नगरपालिकाले अनुरोध गरेको छ । संकलन गरिएका एभोकाडोलाई छायामा सुरक्षित रूपमा राखी सावधानीपूर्वक ढुवानी गर्नसमेत आग्रह गरिएको छ ।

नगरपालिकाले रोग लागेको, कुहिएको, क्षतिग्रस्त वा अन्य कुनै कारणले गुणस्तरहीन भएका एभोकाडो बिक्री–वितरण नगर्न किसान तथा व्यवसायीलाई सचेत गराएको छ ।

धनकुटाको एभोकाडोको गुणस्तर र बजारमा कायम रहेको पहिचानलाई जोगाउन किसान तथा व्यवसायीले जिम्मेवारीपूर्वक परिपक्व फल मात्र बजारमा पठाउनुपर्ने नगरपालिकाको भनाइ छ ।