सर्लाहीका नवजात शिशु नारायणी अस्पतालबाट चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी भएको छ। आइतबार राति पहिचान नखुलेकी एक महिलाले बच्चा खेलाउने बहानामा शिशु लिएर अस्पतालबाटै फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार अन्दाजी ३५ वर्षीया ती महिला शिशुकी हजुरआमासँग ‘बच्चा खेलाउँछु’ भन्दै पुगेकी थिइन्। हजुरआमालाई झुक्क्याएर शिशु लिएपछि ती महिला बेपत्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

सर्लाहीको रामनगर गाउँपालिका–३, बहुअर्वा निवासी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत बालकलाई जन्म दिएकी थिइन्। जन्मिएको २४ घण्टा नबित्दै शिशु प्रसूति वार्डबाटै चोरी भएको हो।

शिशु चोरी भएको सूचना प्राप्त हुनासाथ प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको छ। डिएसपी मल्लका अनुसार अस्पताल परिसर तथा आसपासका क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ।

प्रहरीले शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाउनुका साथै घटनासँग सम्बन्धित सम्भावित स्थानमा खोजी गरिरहेको जनाएको छ। नवजात शिशु चोरीको घटनापछि अस्पतालको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।