डढेलोले उजाड वन पुनर्जीवनका लागि ड्रोनबाट बीउ छर्ने तयारी

रसुवा । डढेलोका कारण उजाड बनेको गतलाङ क्षेत्रको वन पुनः हरियाली बनाउने तयारी सुरु गरिएको छ । यसका लागि डिभिजन वन कार्यालयले आधुनिक प्रविधि प्रयोग गर्दै ड्रोनमार्फत वनस्पतिका बीउ छर्ने योजना अघि बढाएको छ ।

विसं २०६५ मा लागेको भीषण डढेलोका कारण उक्त क्षेत्रमा सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति नष्ट भएका थिए । त्यसयता वन पुनर्जीवनको प्रयास भइरहे पनि कठिन भूगोलका कारण अपेक्षित प्रगति हुन सकेको थिएन ।

डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङका अनुसार दुर्गम र भिरालो भू–भागमा मानव पहुँच कठिन भएकाले ड्रोन प्रयोग गरी बीउ छर्ने योजना बनाइएको हो । स्थानीय हावापानी अनुकूल वनस्पतिका बीउ सङ्कलन कार्य तीव्र रूपमा भइरहेको छ भने आगामी जेठको अन्तिम सातादेखि बीउ छर्ने काम सुरु गरिने तयारी छ । यस अभियानका लागि इसिमोड, वन विज्ञान अध्ययन संस्थान र डिभिजन वन कार्यालयबीच सहकार्य भएको छ ।

डढेलोबाट प्रभावित ४५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा १०० हेक्टर क्षेत्रमा बीउ छर्ने लक्ष्य राखिएको छ । आगलागीका कारण करिब १६ हजार सल्ला र अन्य बहुमूल्य प्रजातिका रुख नष्ट भएका थिए ।

वन पुनःस्थापनाअन्तर्गत हालसम्म ३० हजारभन्दा बढी बिरुवा रोपिएको छ, जसमा २५ हजार बिरुवा रसुवागढी जलविद्युत् आयोजनाले उपलब्ध गराएको हो । यद्यपि, डढेका रुखको उचित व्यवस्थापन नहुँदा वन पुनर्जीवनमा ढिलाइ भएको बताइएको छ ।

हाल यस क्षेत्रका विभिन्न गाउँहरू-थुमन, तातोपानी, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, नेशिङ, करुम्राङ, कटुन्जे र डाँडागाउँ-वनसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । साथै, ६८ वटा सामुदायिक वनमार्फत संरक्षणको काम अघि बढाइएको छ ।

वन कार्यालयले डढेलो नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ । भिरालो भूगोल, हुरीबतास र दुर्गम वनक्षेत्रका कारण आगलागी नियन्त्रण अझै चुनौतीपूर्ण रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here