ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको मनमैजु (अजिमा) जात्रा सुरु भएको छ। प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि सुरु हुने पाँचदिने यो जात्रा यस वर्ष पनि परम्पराअनुसार प्रारम्भ भएको हो।

बालाजु क्षेत्रमा लाग्ने जामाचो मेलासँगै मनमैजु जात्रा लाग्ने धार्मिक विश्वास रहिआएको छ। लिच्छविकालीन राजा गुणकाम देवले सुरु गरेको मानिने शक्तिदेवी मनमैजु माईको जात्रा हरेक वर्ष मनाइँदै आएको छ।

परम्पराअनुसार जात्रा सुरु हुनुभन्दा चार दिनअघि ठमेलका प्रधानले देवी–देवतालाई निम्तो (नेटं) पूजा गरेपछि औपचारिक रूपमा जात्रा आरम्भ हुन्छ। चैत शुक्ल पूर्णिमाको अघिल्लो दिन मनमैजु मन्दिर अगाडि लिङ्गो ठड्याइन्छ, जसपछि केही धार्मिक नियमहरू पालन गरिन्छन्। सोही दिन श्री इन्द्रायणी माईलाई बाजागाजासहित मन्दिरमा स्थापित गरिन्छ।

जात्राको दोस्रो दिन बालबालिकालाई रोगव्याधिबाट बचाउन देवीको प्रसादका रूपमा मरजा (भात) खुवाउने चलन रहेको छ। तेस्रो दिन इन्द्रायणी माईको बाजागाजासहित जात्रा निकालेर ऐतिहासिक बस्ती परिक्रमा गरिन्छ। चौँथो दिन स्थानीयवासीले आफन्त बोलाई भोज गरेर आपसी सद्भाव साटासाट गर्ने परम्परा छ।

अन्तिम अर्थात् पाँचौँ दिन पुनः सिन्दूर जात्रासहित बस्ती परिक्रमा गरिएपछि देवता घरमा देवीलाई विसर्जन गरिन्छ र लिङ्गो ढालेर जात्रा समापन गरिन्छ।

जात्राको अवसरमा मनमैजु युवा समूहले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको छ। नेवारी बाजागाजा, धिमे नाच, सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुतीहरू कार्यक्रमका मुख्य आकर्षण रहनेछन्।

संस्कृति संरक्षण र नयाँ पुस्तामा परम्परा हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो जात्रा आइतबार सम्पन्न हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here