अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ

काठमाडौं । अंग्रेजी महिनाको सप्ताहान्तमा नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’मा यसपटक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र उनका छोरा यमन श्रेष्ठको संयुक्त प्रस्तुति रहने भएको छ।

मदनकृष्ण श्रेष्ठले आजभन्दा १८ वर्षअघि पनि पलेँटीको मञ्चमा प्रस्तुति दिएका थिए। लामो समयपछि पुनः पलेँटीमा फर्किन लागेका उनले यसपटक आफ्ना पुराना लोकप्रिय गीतसँगै नयाँ सिर्जना पनि प्रस्तुत गर्ने तयारी गरेका छन्।

मदनकृष्णले गाएका ‘अरबौं मान्छेहरूमा’, ‘खोलावारी खोलापारी’, ‘फुलबुट्टे सारी’, ‘सयथरी बाजा’ लगायत गीत नेपाली संगीतप्रेमीमाझ लोकप्रिय छन्।

गायनबाट सुरु भएको कलाकारिता

मदनकृष्ण श्रेष्ठ हास्यव्यङ्ग्य कलाकारितामा हरिवंश आचार्यसँगको सहकार्यबाट चर्चित भए पनि उनको प्रारम्भिक कलाकारिता गायनबाटै सुरु भएको थियो।

कलाकारिताको सुरुवाती चरणमा उनले रेडियो नेपालसँगै भारतको अल इन्डिया रेडियो र दूरदर्शनमा समेत आफ्ना गीति सिर्जना प्रस्तुत गरेका थिए।

स्वास्थ्यमा विभिन्न प्रतिकूलता हुँदाहुँदै पनि पछिल्लो समय उनी फिल्म तथा संगीत क्षेत्रमा सक्रिय छन्। केही समयअघि रेकर्ड गरिएका ‘बिर्सिँदे भन्छौ मायालु’‘पहाड भो मलाई’ लगायत उनका गीतलाई श्रोता तथा दर्शकले रुचाएका छन्।

यमनसँगै मञ्चमा

यसपटक पलेँटीको अर्को आकर्षण यमन श्रेष्ठ हुनेछन्। मदनकृष्णकै मार्गदर्शनमा कलाकारितामा अघि बढिरहेका यमन हास्यव्यङ्ग्य अभिनयसँगै गायन र संगीतमा समेत सक्रिय छन्।

यमन व्यङ्ग्यात्मक शैलीका गीतसँगै गम्भीर प्रकृतिका गीत गाउन पनि रुचाउँछन्। उनका चर्चित गीतमा ‘यो मन बदल्न चाहन्न’, ‘जिन्दगीमा सायद मैले’, ‘नौलो बस्ती देखे जहाँ’‘मान्छेले किन मान्छेलाई मार्छ’ लगायत छन्।

यमनले आफूले गाउने अधिकांश गीतका शब्दमा आफैं धुन सिर्जना गर्ने गरेका छन्।

‘यसपालि झन् रमाइलो हुनेछ’

पलेँटीको टिमसँग अभ्यास गरिरहेका मदनकृष्णले १८ वर्षअघिको पलेँटी सम्झिँदै यसपटक छोरासँगै मञ्चमा उभिन पाउँदा अझ रमाइलो हुने बताए।

उनले भने, ‘१८ वर्ष पहिले पनि पलेँटीमा गीत गाएको थिएँ। खुब रमाइलो लागेको थियो। यसपालि त छोरालाई पनि साथमा लिएर आएको छु। झन् रमाइलो हुनेछ भन्ने आशा छ।’

मदनकृष्णको भनाइ सुनेर मुस्कुराइरहेका यमनले पलेँटीको रिहर्सल नै रमाइलो भइरहेको भन्दै वास्तविक कार्यक्रम अझ रमाइलो हुने बताए।

जुलाई ३१ र अगस्ट १ मा कार्यक्रम

पलेँटीको यो विशेष कार्यक्रम जुलाई ३१ शुक्रबार र अगस्ट १ शनिबार आयोजना हुनेछ। कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने कार्यक्रमलाई दर्शकले घरमै बसेर समेत हेर्न सक्ने व्यवस्था गरिएको छ।

कार्यक्रम अनलाइनमार्फत प्रत्यक्ष हेर्न सकिनेछ। त्यसका लागि पलेँटीको वेबसाइटमार्फत लाइभ हेर्ने लिङ्क बुक गर्नुपर्ने आयोजकले जनाएको छ।

मदनकृष्ण र यमनको पुस्तान्तरणसहितको सांगीतिक प्रस्तुतिले यसपटकको पलेँटीलाई विशेष बनाउने अपेक्षा गरिएको छ।