धितोपत्र बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब माथि पुग्यो

काठमाडौं l धितोपत्र बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब भन्दा माथि पुगेको छ। नेपालको धितोपत्र बजारको कुल पुँजीकरण २०८२ फागुन मसान्तसम्म ४७ खर्ब ४४ अर्ब ७३ करोड पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा बजार पुँजीकरण रु.४५४३ अर्ब ८१ करोड रहेको थियो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा नेप्से परिसूचक पनि बढेको छ। २०८१ फागुन मसान्तमा २ हजार ७३६.४९ अंकमा रहेको नेप्से सूचकाङ्क २०८२ फागुन मसान्तमा बढेर २ हजार ८२०.४५ पुगेको छ। यद्यपि बजार पुँजीकरणको आकार बढे पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपात भने केही घटेको छ। २०८१ फागुनमा बजार पुँजीकरण जीडीपीको ७९.५९ प्रतिशत रहेकोमा २०८२ फागुनमा ७७.६९ प्रतिशतमा झरेको छ।

यस अवधिमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या पनि बढेको छ। २०८२ फागुन मसान्तसम्म सूचीकृत कम्पनी २८६ पुगेका छन्, जबकि २०८१ फागुनमा यस्तो संख्या २६८ थियो। सूचीकृत कम्पनीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९७ जलविद्युत् कम्पनी, २७ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था तथा १० अन्य समूहका कम्पनी रहेका छन्।

बजार पुँजीकरणको हिस्सामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको प्रभुत्व देखिएको छ। यी संस्थाहरूको हिस्सा ५२.२ प्रतिशत रहेको छ। त्यसपछि जलविद्युत् कम्पनीको १५.९ प्रतिशत, लगानी कम्पनीको ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ७.२ प्रतिशत, व्यापारिक संस्थाको ४.४ प्रतिशत, होटल क्षेत्रको ३.१ प्रतिशत र अन्य समूहको ९.८ प्रतिशत हिस्सा रहेको छ।

नेप्सेमा सूचीकृत कुल ९ अर्ब २६ करोड कित्ता सेयरको चुक्ता मूल्य रु.९११ अर्ब ९९ करोड पुगेको छ।

चालु आर्थिक वर्ष २०८२÷८३ को आठ महिनामा धितोपत्र बजारमा थप ७० अर्ब ४६ करोड बराबरका धितोपत्र सूचीकृत भएका छन्। यसमध्ये ३६ अर्ब २८ करोड बराबरको साधारण सेयर, १२ अर्ब ५९ करोड बराबरको बोनस सेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद सेयर, ७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४० करोड बराबरको डिबेन्चर, ९२ करोड ५० लाख बराबरको एफपीओ तथा २ करोड २९ लाख बराबरका अन्य धितोपत्र रहेका छन्।

यसै अवधिमा नेपाल धितोपत्र बोर्डले पनि विभिन्न धितोपत्र सार्वजनिक निष्कासनका लागि ३७ अर्ब १ करोड बराबरको अनुमति दिएको छ। बोर्डले २३ अर्ब १३ करोड बराबरको म्युचुअल फण्ड, ८ अर्ब ७० करोड बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड बराबरको हकप्रद सेयर,२० करोड बराबरको डिबेन्चर तथा ५ करोड बराबरको एफपीओ निष्कासनका लागि स्वीकृति दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here