कतारमा कामदारलाई पार्ट-टाइम कामको अनुमति

नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक कतारले आफ्नो श्रम बजारलाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले श्रम कानुनमा व्यापक संशोधन गरेको छ। 

कतारको श्रम मन्त्रालयले ‘कानुन नम्बर ९ (२०२६)’ जारी गर्दै श्रमिक र रोजगारदाता दुवैको हकहित रक्षाका लागि नयाँ व्यवस्थाहरू लागू गरेको हो।

नयाँ संशोधित कानुनमा पहिलो पटक पार्ट-टाइम (आंशिक समय) र फ्रिलान्स (स्वतन्त्र) कामलाई कानुनी दायरामा ल्याई मान्यता दिइएको छ। 

यस व्यवस्थाले श्रमिकहरूलाई आफ्नो अनुकूल समयमा अतिरिक्त आम्दानी गर्ने बाटो खोल्नेछ भने रोजगारदाताहरूले पनि आवश्यकता अनुसार लचिलो रूपमा जनशक्ति परिचालन गर्न पाउनेछन्।

कतारको श्रम मन्त्रालयका अनुसार यो संशोधन ‘कतार राष्ट्रिय दृष्टिकोण २०३०’ को लक्ष्य अनुरूप श्रम बजारको उत्पादकत्व र प्रतिस्पर्धात्मकता बढाउन ल्याइएको हो। 

नयाँ कानुनले श्रमिक आपूर्ति गर्ने रिक्रुटमेन्ट एजेन्सी (म्यानपावर कम्पनी) हरूमाथिको कानुनी नियन्त्रण र सुपरिवेक्षणलाई अझ कडा बनाएको छ, जसबाट वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, श्रमिकहरूले समयमै र नियमित रूपमा पारिश्रमिक पाउने व्यवस्था सुनिश्चित गर्न ‘वेज प्रोटेक्सन सिस्टम’ (WPS) लाई थप बलियो बनाइएको छ। 

कार्यस्थलको अनुगमन र निरीक्षणका लागि मन्त्रालयले विशेष संयन्त्र परिचालन गर्ने जनाएको छ।

श्रमिक र रोजगारदाताबीच हुने विवादहरूलाई छिटो र छरितो ढंगले समाधान गर्न कतारले विद्युतीय प्रणाली (Electronic Systems) को सुरुवात गरेको छ।

 अब श्रम सम्बन्धी मुद्दाहरूको सुनुवाइ र फैसला अनलाइन माध्यमबाटै द्रुत गतिमा हुनेछ। साथै, कार्यस्थलमा हुन सक्ने असमझदारीलाई कम्पनीभित्रै सुल्झाउन ‘संयुक्त समिति’ (Joint Committees) गठन गर्न प्रोत्साहन गरिने कानुनमा उल्लेख छ।

यसबाहेक, श्रमिकहरूको व्यावसायिक क्षमता बढाउन निश्चित पेशाहरूका लागि स्वीकृत तालिम कार्यक्रम र दक्षता परीक्षण (Professional Competency Assessments) अनिवार्य गरिएको छ।

कतारमा कार्यरत लाखौं नेपाली श्रमिकहरूको व्यावसायिक सुरक्षा, पारिश्रमिकको ग्यारेन्टी र कानुनी उपचारको प्रक्रियालाई यो नयाँ व्यवस्थाले थप सुरक्षित र सहज बनाउने विश्वास लिइएको छ।

सन् २०२२ को विश्वकप पूर्वाधार निर्माणका बेला कतारमा नेपालीको संख्या करिब ७ लाखसम्म पुगेको थियो। 

विश्वकप सकिएपछि धेरैजसो निर्माण क्षेत्रका श्रमिकहरू स्वदेश फर्किएकाले यो संख्या घटेर अहिले साढे ३ लाखदेखि ३ लाख ६० हजारको आसपासमा झरेको हो। 

कतारमा विदेशी कामदारहरूमध्ये नेपालीहरूको संख्या दोस्रो ठूलो मानिन्छ।