एजेन्सी । रातमा बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उल्लेखनीय रूपमा बढ्ने नयाँ अध्ययन प्रकाशित भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंक का लगभग ८९ हजार सहभागीहरूमा गरेको अध्ययन अनुसार उज्यालो कोठामा सुत्ने व्यक्तिमा हृदयघातको जोखिम ३०–५० प्रतिशतसम्म बढ्ने देखिएको छ।
अमेरिकी वैज्ञानिक पत्रिका JAMA Network Open मा प्रकाशित प्रतिवेदन अनुसार हरेक रात उज्यालो प्रकाशमा सुत्दा हृदयघातको जोखिम ४७%, कोरोनरी धमनी रोग ३२%, र स्ट्रोकको २८% ले बढ्ने पाइएको छ।
अध्ययनले रातको कृत्रिम प्रकाशले दिमागमा तनाव बढाउने, धमनीहरूमा सूजन ल्याउने र शरीरको प्राकृतिक जैविक घडीमा असर गर्ने देखाएको छ। वैज्ञानिकहरूले राम्रो स्वास्थ्यका लागि पूर्ण अन्धकारमा सुत्न सिफारिश गरेका छन्। साथै, सुत्नुभन्दा कम्तीमा चार घण्टा अगाडिदेखि बत्ती कम गर्न र ब्ल्याकआउट पर्दा प्रयोग गर्न सुझाव दिइएको छ।
यो अनुसन्धानले रातको प्रकाशलाई हृदयरोगको एक प्रमुख जोखिम कारकको रूपमा हेर्नुपर्ने देखाएको छ। विशेषज्ञहरूका अनुसार खोजले सार्वजनिक स्वास्थ्य नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। विशेषगरी शहरी क्षेत्रमा बढ्दो प्रकाश प्रदूषण र मोबाइल स्क्रिनको प्रयोगले यस समस्यालाई अझ गम्भीर बनाएको छ।
















