ढोरपाटन (बागलुङ)। बागलुङको काठेखोला गाउँपालिका–७ रेशगाउँमा बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएको थियो । खाली जमिन झाडीले ढाकिन थालेपछि वडाध्यक्ष प्रेम लामिछानेले चियाखेतीको योजना अघि सारे । अहिले यही योजना गाउँको आयआर्जनको बलियो माध्यम बनेको छ भने रेशगाउँको पहिचान नै “चिया गाउँ”का रूपमा स्थापित हुन थालेको छ ।
सात वर्षअघि सुरु गरिएको चियाखेती अहिले राम्रोसँग फस्टाएको छ । सुरुमा ताराखोला गाउँपालिकाको सिरुबारीबाट करिब ३० हजार चियाका बिरुवा ल्याएर परीक्षणका रूपमा रोपिएको थियो । सुरुमा धेरैले यसबाट आम्दानी हुनेमा विश्वास नगरे पनि बिरुवा राम्रोसँग बढ्दै गएपछि स्थानीयमा आशा पलाएको थियो ।
पहिलो चरणमा जनकल्याण आधारभूत विद्यालयको ३५ रोपनी जग्गामा चियाखेती सुरु गरिएको थियो । अहिले गाउँका विभिन्न खाली तथा बाँझो जमिनमा झाडी फाँडेर चियाखेती विस्तार गरिएको छ । हाल रेशगाउँको टिङरिङ, बौर र फलायडाँडालगायत क्षेत्रमा करिब ३०० रोपनीमा चियाखेती भइरहेको छ ।
वडाध्यक्ष लामिछानेका अनुसार चियाखेती फस्टाएपछि स्थानीय निकै उत्साहित भएका छन् । यसले गाउँमा आम्दानी बढाएको मात्र होइन, बसाइँसराइ रोक्नसमेत सहयोग पुगेको छ। अहिले धेरै स्थानीयले व्यक्तिगत रूपमा पनि चियाका बिरुवा लगाउन थालेका छन् ।
रेश साना किसान सहकारी संस्थामार्फत सुरु गरिएको चियाखेतीमा अहिले करिब २८० परिवार आबद्ध छन् । वर्षको नौ महिना चिया टिप्न सकिने र प्रतिकिलो रु दुई हजारसम्ममा बिक्री हुने गरेको छ । यस वर्ष करिब रु २० लाख बराबरको चिया बिक्री हुने अपेक्षा गरिएको छ ।
उत्पादन राम्रो भए पनि चिया प्रशोधन गर्ने मेसिनको अभाव भने चुनौती बनेको छ । यद्यपि उत्पादन भएको चियाका लागि बजारको समस्या छैन । यहाँको चिया अहिले बागलुङ, पोखरा र काठमाडौँसम्म पुग्ने गरेको सहकारीले जनाएको छ ।
स्थानीयका अनुसार चियाखेतीले गाउँमा नयाँ उत्साह ल्याएको छ । पहिले झाडीले ढाकिएको जमिन अहिले हरियाली चियाबगानमा परिणत भएको छ, जसले गाउँलाई नयाँ पहिचानसँगै स्थायी आम्दानीको आधार दिएको छ । रासस
















