‘हात्तीको बाटोमा सडक, बस्ती र उद्योग बनेपछि द्वन्द्व बढ्यो’

पछिल्लो समय नेपालमा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएका छन्। हात्तीको आक्रमणबाट मानिसको मृत्यु हुने, घाइते हुने तथा घरगोठ, बालीनाली र पशुधनमा क्षति पुग्ने क्रम देखिएको छ। हात्तीको प्राकृतिक बासस्थान र परम्परागत हिँड्ने मार्गमा मानव बस्ती, सडक, उद्योग तथा कृषि क्षेत्र विस्तार हुँदा यस्तो द्वन्द्व थप जटिल बन्दै गएको विज्ञहरू बताउँछन्।

हात्तीको पारिस्थितिकी तथा व्यवहारमा विद्यावारिधि गरेका तथा हाल बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत (चिफ वार्डेन) डा. अशोक कुमार रामका अनुसार मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सबैभन्दा पहिले हात्तीको प्रकृति, व्यवहार र हिँड्ने मार्ग बुझ्न आवश्यक छ।

डा. रामका अनुसार हात्ती सामाजिक प्राणी हो। समूहमा बस्ने हात्तीलाई दैनिक ठूलो मात्रामा खानेकुरा र पानी आवश्यक पर्छ। एउटा हात्तीले दिनमा करिब २०० किलोग्राम खानेकुरा र २०० लिटर पानी आवश्यक पर्ने भएकाले पर्याप्त स्रोतको खोजीमा उनीहरू लामो दूरीसम्म विचरण गर्छन्।

“हात्ती कुनै एउटा निकुञ्ज वा आरक्षभित्र मात्रै अटाउँदैन। खानेकुरा र पानीको खोजीमा उनीहरू लामो दूरी तय गर्छन्,” डा. रामले बताए। उनका अनुसार हात्तीले पुर्खादेखि प्रयोग गर्दै आएका परम्परागत मार्ग पछ्याउने गर्छन्। तर ती मार्गमा अहिले सडक, राजमार्ग, उद्योग, बस्ती तथा खेती विस्तार भएकाले हात्ती र मानिसबीच प्रत्यक्ष सम्पर्क हुने गरेको छ।

हात्तीको मार्गमा बढ्दो मानवीय हस्तक्षेप

हात्तीको परम्परागत आवतजावतको मार्गमा मानव बस्ती विस्तार हुँदा द्वन्द्वको जोखिम बढेको डा. रामको भनाइ छ। हात्ती आफ्नो प्राकृतिक मार्गमा हिँड्न खोज्दा मानिसले त्यसलाई धपाउने प्रयास गर्ने र त्यही क्रममा मानिस घाइते हुने वा मृत्यु हुने घटना हुन सक्छन्।

“हात्ती आफ्नो हिसाबले हिँड्न खोज्छ र हामीले हात्तीलाई धपाउन खोज्छौँ। त्यसपछि मान्छेको मृत्यु, घाइते हुने तथा बालीनाली र घरगोठमा क्षति हुने अवस्था आउँछ,” उनले भने।

उनका अनुसार निकुञ्ज तथा आरक्ष आसपासका मध्यवर्ती क्षेत्रमा संरक्षण, व्यवस्थापन तथा सचेतना कार्यक्रम भइरहेकाले स्थानीय बासिन्दा हात्तीको व्यवहारबारे तुलनात्मक रूपमा जानकार छन्। तर निकुञ्ज तथा आरक्षभन्दा बाहिर हात्तीले लामो दूरी तय गर्ने भएकाले त्यहाँ जोखिम बढी देखिन्छ।

पूर्वसूचना प्रणाली प्रभावकारी उपाय

हात्ती आउने सम्भावित क्षेत्रमा अर्ली वार्निङ सिस्टम अर्थात् पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने डा. रामको सुझाव छ। गाउँबस्तीमा साइरन जडान गर्ने, हात्तीको गतिविधिबारे तत्काल सूचना प्रवाह गर्ने तथा स्थानीयस्तरमा रेस्पोन्स टिम परिचालन गर्ने हो भने मानिसलाई हात्तीको प्रत्यक्ष सम्पर्कमा जानबाट रोक्न सकिने उनको भनाइ छ।

“मानव जीवन अमूल्य छ। घर, बाली वा पशुधनको क्षति भए राहत दिन सकिन्छ, तर मानव मृत्यु हुन दिनु हुँदैन,” उनले भने।

उनका अनुसार हात्ती गाउँबस्तीमा प्रवेश गरेको अवस्थामा स्थानीय प्रशासन, स्थानीय सरकार, निकुञ्ज तथा वन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना वा सशस्त्र प्रहरीलगायत सम्बन्धित निकायलाई तत्काल खबर गरी प्रशिक्षित टोलीमार्फत हात्तीलाई सुरक्षित रूपमा बस्तीबाट बाहिर निकाल्ने व्यवस्था गर्नुपर्छ।

हात्ती सक्रिय हुने समयमा विशेष सावधानी

हात्तीको गतिविधि हुने समय र मार्गबारे स्थानीय बासिन्दालाई जानकारी गराउनु पनि महत्वपूर्ण रहेको डा. राम बताउँछन्। उनका अनुसार बिहान र विशेषगरी साँझ तथा रातिको समयमा हात्ती सक्रिय हुन सक्ने भएकाले त्यस्तो समयमा गाउँबस्तीमा आवतजावत गर्दा विशेष सावधानी अपनाउनुपर्छ।

राति बाहिर निस्कनुपरे टर्च बाल्ने, वरपर हात्तीको गतिविधि भए–नभएको बुझ्ने र एक्लै जोखिमपूर्ण क्षेत्रमा नजाने जस्ता सावधानी अपनाउनुपर्ने उनको सुझाव छ।

सुरक्षित मार्ग र संरचना आवश्यक

मानव–हात्ती द्वन्द्व दीर्घकालीन रूपमा न्यूनीकरण गर्न हात्तीका परम्परागत मार्ग पहिचान गरी सुरक्षित राख्नुपर्ने विज्ञहरूको जोड छ। सडक, नहर तथा रेलवे लाइन निर्माण गर्दा हात्तीको आवतजावतलाई ध्यानमा राखेर अन्डरपास तथा ओभरपास निर्माण गर्नुपर्ने डा. रामको सुझाव छ।

उनका अनुसार हात्ती भूपरिधिस्तरमा विचरण गर्ने वन्यजन्तु भएकाले संरक्षण पनि एउटा निकुञ्ज वा आरक्षभित्र सीमित गरेर सम्भव हुँदैन। हात्तीका आवतजावतका मार्ग, वन क्षेत्र, कृषि क्षेत्र र मानव बस्तीलाई समेटेर भूपरिधिस्तरमै संरक्षण तथा व्यवस्थापन योजना आवश्यक हुन्छ।

नेपाल–भारत समन्वय पनि आवश्यक

हात्तीलाई राष्ट्रिय सीमाले रोक्न नसक्ने भएकाले नेपाल–भारतबीच समन्वय आवश्यक रहेको डा. रामले बताए। भारतबाट नेपाल र नेपालबाट भारततर्फ हात्तीको नियमित आवतजावत हुने भएकाले दुई देशका स्थानीय तथा सरकारी निकायबीच समन्वय गरेर हात्तीको आवतजावत र द्वन्द्व व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।

“हात्तीका लागि कुनै सिमाना हुँदैन। नेपालबाट भारत गयो भने भारतको र भारतबाट नेपाल आयो भने नेपालको भन्ने हुँदैन,” उनले भने।

उनका अनुसार नेपालमा करिब ३०० वटा जंगली हात्ती रहेको अनुमान छ। तीमध्ये करिब १२० देखि १५० वटा हात्ती प्रत्येक वर्ष नेपाल–भारत सीमापार आवतजावत गर्ने गर्छन्। नेपालमा घरपालुवा हात्तीको संख्या पनि करिब १७० रहेको उनले जानकारी दिए।

वर्षैभरि देखिन थाले हात्ती

पहिले मकै र धान पाक्ने समयमा हात्तीको आवागमन बढी देखिने गरे पनि पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा वर्षैभरि हात्ती देखिन थालेको डा. रामले बताए। त्यसैले हात्ती आउने सम्भावित मौसम पर्खेर मात्र व्यवस्थापन गर्नेभन्दा वर्षभरि नै जोखिमको पूर्वतयारी आवश्यक रहेको उनको भनाइ छ।

उनका अनुसार हात्तीको हिँड्ने बाटो, आवागमनको समय र गतिविधिको नियमित निगरानी गरेर जोखिम क्षेत्र पहिचान गर्नुपर्छ।

संरक्षणका प्रयास जारी

नेपालमा हात्ती संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा आरक्ष स्थापना गर्नुका साथै हात्तीको बासस्थान व्यवस्थापन, घाँसे मैदान निर्माण, पोखरी व्यवस्थापन र हात्तीले खाने वनस्पतिका प्रजाति संरक्षण तथा रोपणका काम भइरहेको डा. रामले बताए।

त्यसैगरी स्थानीय समुदायमा सचेतना कार्यक्रम, साइरन तथा पूर्वसूचना प्रणाली, स्थानीय रेस्पोन्स टिम गठन तथा क्षति भएपछि राहत उपलब्ध गराउने काम पनि भइरहेको उनले जानकारी दिए।

हात्ती गाउँबस्तीमा प्रवेश गरेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायलाई खबर गरी हात्तीलाई सुरक्षित रूपमा बस्तीबाट बाहिर निकाल्ने र क्षति भएमा राहत प्रक्रिया तत्काल अघि बढाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

२६ वर्षमा ३५५ मानिस र ५७ भन्दा बढी हात्तीको मृत्यु

डा. रामका अनुसार सन् २००१ देखि २०२६ सम्मको २६ वर्षको अवधिमा नेपालमा मानव–हात्ती द्वन्द्वका कारण ३५५ जनाको मृत्यु भएको छ। यही अवधिमा ५७ देखि ५८ वटा हात्तीको समेत अकालमा मृत्यु भएको उनको भनाइ छ।

नेपालमा जंगली हात्तीको संख्या करिब ३०० मात्र रहेको अवस्थामा अकालमा यति ठूलो संख्यामा हात्ती मर्नु संरक्षणका दृष्टिले गम्भीर विषय भएको उनले बताए।

“समयमै मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी रूपमा काम गर्न सकियो भने हात्तीलाई लोप हुनबाट जोगाउन सकिन्छ,” उनले भने।

मानव मृत्यु रोक्न केन्द्रित हुनुपर्ने

डा. रामले मानव–हात्ती द्वन्द्व व्यवस्थापनका लागि राष्ट्रियस्तरको छुट्टै रणनीति आवश्यक रहेको बताए। स्थानीय समुदाय, स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरेर काम गर्न सके द्वन्द्व न्यूनीकरण गर्न सकिने उनको विश्वास छ।

उनका अनुसार क्षति भइसकेपछि राहत दिने मात्र होइन, जोखिम हुनुअघि नै पूर्वसूचना, सचेतना, सुरक्षित आवागमन मार्ग र तत्काल प्रतिक्रिया दिने संयन्त्रलाई बलियो बनाउनुपर्छ।

वन्यजन्तु क्षतिमा राहतको व्यवस्था

नेपाल सरकारले वन्यजन्तुबाट हुने क्षतिका लागि राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। डा. रामका अनुसार वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएमा १० लाख रुपैयाँसम्म राहत उपलब्ध गराउने व्यवस्था छ। घाइतेको उपचारका लागि २ लाख रुपैयाँसम्म उपलब्ध गराउने र उक्त रकमले उपचार नपुगे सरकारी अस्पतालमार्फत थप उपचारको व्यवस्था गर्ने प्रावधान रहेको उनले बताए।

त्यसैगरी बाली तथा घरगोठमा क्षति भएमा नियमअनुसार १० हजार रुपैयाँसम्म राहत उपलब्ध गराउने व्यवस्था रहेको छ।

डा. रामले मानव जीवनको मूल्य पैसामा निर्धारण गर्न नसकिने भएकाले यस्ता रकमलाई क्षतिपूर्तिभन्दा पनि सरकारले उपलब्ध गराउने राहतका रूपमा बुझ्नुपर्ने बताए।

मानव जीवनको सुरक्षा, हात्तीको प्राकृतिक आवागमन मार्गको संरक्षण, पूर्वसूचना प्रणाली, स्थानीय समुदायको सहभागिता र नेपाल–भारतबीचको समन्वयलाई एकसाथ अघि बढाउन सके मात्र नेपालमा बढ्दो मानव–हात्ती द्वन्द्वलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्न सकिने उनको निष्कर्ष छ।