रुखको पातमा भेटियो सुन

काठमाडौं l सुइपाते रुख अर्थात् स्प्रुसका तिखा पातमा साँच्चिकै सुन लुकेको तथ्य प्रमाणित भएको छ।

हालैको अध्ययनले नर्वे स्प्रुस नामक वनस्पतिको तिखा पातमा सूक्ष्म कण (नानो पार्टिकल्स) का रूपमा सुन हुने पत्ता लगाइएको छ।

फिनल्यान्डका वैज्ञानिकले गरेको अध्ययन अनुसार पाइसिया एबिस वैज्ञानिक नाम भएको उक्त वनस्पतिले ब्याक्टेरियाको सहयोगमा जराबाट पानीसँगै सुनका कण पनि सोसेर लिन्छ। इन्भारोमेन्टल माइक्रोबायोम जर्नलमा प्रकाशित उक्त शोध अनुसार यो तथ्यको खुलासा भएको छ।

वैज्ञानिकहरूले फिनल्यान्डको उत्तरी क्षेत्रमा रहेको युरोपकै ठुलो किटिला नामक सुनखानी आसपासका स्प्रुस वनस्पतिको अध्ययन गरेका थिए।

त्यसक्रममा २३ वटा वनस्पतिबाट १३८ वटा सुइपातको नमुना लिइयो। अध्ययनका क्रममा चार वटा रुखका सुइपातमा सुनका सूक्ष्म कण फेला परे।

फिनल्यान्डको ओउलु विश्वविद्यालयका वातावरणशास्त्री समेत रहेकी अध्ययन टोली प्रमुख लेखिका केसा लेहोस्माका अनुसार रुखको भित्र रहने ब्याक्टेरिया तथा अन्य सूक्ष्म जीवले सुनलाई
एकत्रित गर्नमा सहयोग गर्छन्।

ती ब्याक्टेरियालाई एन्डोफाइट्स् भनिन्छ। यी वनस्पतिको भित्र रहने लाभकारी जीव हुन्। यिनले रुखको हर्मोन बनाउँछन् र पोषक तत्त्व सोस्नमा सहयोग गर्छन्।

बोटबिरुवाले जराबाट पानी सोस्तछन्। माटोमा घुलेको सुन पनि पानीसँगै आउँछ तर सुन वनस्पतिका लागि विषाक्त हुन्छ। त्यसैले वनस्पतिले उक्त सुनलाई पातका सुइमा जम्मा गर्न चाहँदैनन्। त्यसबेला एन्डोफाइट ब्याक्टेरिया काम आउँछन्।

ती ब्याक्टेरियाले बायोमिनरलाइजेसन प्रक्रियाबाट सुनका कणलाई छुट्याउँछन्।

बायो मिनरलाइजेसन यस्तो प्रक्रिया हो जसमा जीवहरूले आफ्ना तन्तुमा खनिज बनाउँछन् र नियन्त्रण गर्छन् । ब्याक्टेरियाले सुनका कणलाई घेरेर बायोफिल्म बनाउँछन्।

उक्त बायोफिल्म सुगर र प्रोटिनबाट बनेको हुन्छ। जसले वनस्पतिभित्र ब्याक्टेरियालाई सुरक्षित राख्छ। वैज्ञानिकहरूका अनुसार रुखका पातमा यस्ता ब्याक्टेरियाको खोजीले सुनखानी पत्ता लगाउन सहज हुने छ।

शोधकर्ता लेहोस्माका अनुसार ती ब्याक्टेरियाको अध्ययन खानी कम्पनीका लागि निकै उपयोगी हुन्छ। यस अध्ययनले प्रकृतिमा ब्याक्टेरियाहरू कति धेरै चमत्कारी छन् भन्ने पनि देखाएको छ।

रुखले माटोबाट धातुलाई सोसेर पर्यावरणलाई सफा राख्छन् । यसबाट खानी उद्योगमा नयाँ प्रविधि प्राप्त हुन सक्छ।

त्यसै गरी यस खोजले कुनै पनि सानो जीवले ठूलो रहस्योद्घाटन पनि गर्न सक्छ भन्ने तथ्य उजागर गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here