कतार, अक्टोबर २५। दहेज मुक्त अभियान नेपालका मोहम्मद रफिक राईनले नेपालमा व्याप्त दाइजो प्रथा र लागुऔषध दुर्व्यसन अन्त्यका लागि सबै समुदायलाई एकजुट हुन आह्वान गरेका छन्।
आइतबार साँझ कतारको इन्डस्ट्रियल एरिया (सनैया) स्थित प्लाजा मलमा मुस्लिम समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अगुवाहरूसँग भएको भेटघाटका क्रममा उनले दाइजो प्रथा र लागुऔषध दुर्व्यसन समाजको विकास र समृद्धिका प्रमुख बाधक रहेको बताए।
‘बेटीलाई दाइजो होइन, शिक्षा देऊ’ भन्ने मूल नाराका साथ अघि बढिरहेको दहेज मुक्त अभियान नेपालले छोरीलाई विवाहका नाममा दाइजो दिनुभन्दा शिक्षित, सक्षम र आत्मनिर्भर बनाउनुपर्ने सन्देश प्रवाह गर्दै आएको छ।
भेटघाटमा मंसुरी एकता मञ्च नेपालका कोषाध्यक्ष हैदर अली, महोत्तरी मुस्लिम कमिटी संघका अध्यक्ष बशीर बरकाती तथा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज (अनेमुस) कतारका कोषाध्यक्ष फुरकान अलीलगायतसँग सामाजिक सुधार, दाइजो प्रथा उन्मूलन र लागुऔषध दुर्व्यसन नियन्त्रणका विषयमा छलफल भएको राईनले जानकारी दिए।
राईनले विवाहका नाममा दाइजो लिने र दिने प्रवृत्तिले विशेषगरी आर्थिक रूपमा कमजोर परिवारलाई थप समस्यामा पारिरहेको उल्लेख गर्दै यस्तो कुप्रथा अन्त्य गर्न समुदायस्तरबाटै सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले भने, “नेपालबाट दाइजो प्रथाको अन्त्य गर्नुपर्छ। लागुऔषधको समस्या पनि समाप्त गर्नुपर्छ। यी दुवै विषय हाम्रो समाजका लागि अत्यन्त हानिकारक छन्।”
उनका अनुसार दाइजो प्रथाले गरिब परिवारमाथि अनावश्यक आर्थिक बोझ थप्नुका साथै सामाजिक असमानता र विभेदलाई समेत बढावा दिइरहेको छ। छोरीलाई बोझका रूपमा नभई परिवार र समाजको समान सदस्यका रूपमा स्वीकार गर्दै शिक्षामा प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
त्यसैगरी, लागुऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा नकारात्मक असर पार्ने भन्दै उनले यसको रोकथामका लागि अभिभावक, युवा तथा सामाजिक संघसंस्थाले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।
कतारमा रहेका नेपाली समुदायका अगुवाहरूसँगको भेटघाटलाई सामाजिक सचेतना विस्तार गर्ने अवसरका रूपमा लिँदै राईनले दाइजोमुक्त समाज निर्माणको अभियानमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको साथ र सहयोग आवश्यक रहेको बताए।
उनले दाइजो प्रथा कुनै एक धर्म वा समुदायको मात्र समस्या नभई समग्र समाजको साझा चुनौती भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै धर्म, जातजाति, समुदाय तथा सामाजिक संघसंस्थाबीच सहकार्य हुनुपर्नेमा जोड दिए।
- दाइजो प्रथा अन्त्यका लागि समुदायस्तरमा सचेतना अभियान चलाउन राईनको आग्रह
- छोरीलाई दाइजोभन्दा शिक्षा, सीप र आत्मनिर्भरतामा प्राथमिकता दिनुपर्नेमा जोड
- लागुऔषध दुर्व्यसन रोकथाममा अभिभावक, युवा र सामाजिक संघसंस्थाको सक्रिय भूमिका आवश्यक
समाचार: मेरोसाथ समाचार डेस्क






