दोहा, कतार । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज (अनेमुस) कतारको मूल आयोजनामा १२ वटा नेपाली मुस्लिम संस्थाको सहकार्यमा नेपालको संविधान दिवस दीप प्रज्वलन, खुशियाली तथा शुभकामना आदान–प्रदानसहित मनाइएको छ।
कार्यक्रममा संविधान, राष्ट्रियता र नागरिक दायित्वका विषयमा चर्चा गरिएको थियो। कार्यक्रमको अध्यक्षता अनेमुस कतारका अध्यक्षले गरेका थिए भने अनेमुसका संरक्षक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपमहासचिव मोहम्मद मुक्तदा मुसलमान प्रमुख अतिथिका रूपमा सहभागी थिए।
मौलाना गुलाम नवीले कुरान तिलावत गरेपछि कार्यक्रम औपचारिक रूपमा सुरु भएको थियो। त्यसपछि राष्ट्रिय गानसहित संविधान दिवसको शुभकामना आदान–प्रदान गरिएको थियो। सहभागीहरूले दीप प्रज्वलन तथा केक काटेर संविधान दिवसको खुशियाली साटासाट गरेका थिए।
कतारमा पछिल्ला वर्षहरूमा संविधान दिवसका सार्वजनिक कार्यक्रम तुलनात्मक रूपमा कम हुँदै गएको सन्दर्भमा आयोजित कार्यक्रममा १२ नेपाली मुस्लिम संस्थाका अगुवासहित एनआरएनए आईसीसी तथा एनसीसीका पदाधिकारी, वैचारिक संगठनका प्रतिनिधि, सामाजिक व्यक्तित्व, व्यवसायी तथा पत्रकारको सहभागिता रहेको थियो।
कार्यक्रममा अनेमुस कतारका संरक्षकद्वय करिम बक्स मियाँ र मोहम्मद अजिज अली, एनआरएनए आईसीसी सचिव पदम गिरी, आईसीसी सहकोषाध्यक्ष बिमल सुवेदी, आईसीसी सल्लाहकार सागर नेपाल, एनआरएनए एनसीसी कतारका उपाध्यक्ष सन्तोष पौडेल तथा नेपाली महिला समाजकी उपाध्यक्ष मेनुका खतिवडा भण्डारीलगायतको उपस्थिति थियो।
त्यस्तै नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति कतारका उपाध्यक्ष ठाकुर परियार, नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्चका अध्यक्ष अफसर अली खान तथा सामाजिक व्यक्तित्व चानक पोखरेललगायतले कार्यक्रममा धारणा राखेका थिए।

संविधान र नागरिक दायित्वबारे जोड
कार्यक्रममा वक्ताहरूले विदेशमा रहेर पनि नेपाली नागरिकले संविधान, राष्ट्रियता र नागरिक अधिकारप्रतिको चासो तथा जिम्मेवारीलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।
संविधान दिवसलाई केवल औपचारिक उत्सवमा सीमित नराखी संविधानले प्रत्याभूत गरेका अधिकार, समानता, सामाजिक न्याय तथा नागरिक कर्तव्यबारे प्रवासमा समेत संवाद र सचेतना आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए।
मुस्लिम संस्थाका अगुवाहरूले नेपाली मुस्लिम समुदायसहित समग्र नेपाली समाजबीच आपसी सहकार्य, सामाजिक सद्भाव र साझा राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउनुपर्ने धारणा राखेका थिए।
अनेमुस कतारले १२ वटा मुस्लिम संस्थालाई सहआयोजकका रूपमा एकै ठाउँमा ल्याएर आयोजना गरेको कार्यक्रमले नेपाली मुस्लिम समुदायबीच संस्थागत सहकार्य र एकताको सन्देश दिएको आयोजकको भनाइ छ। सामाजिक तथा राष्ट्रिय महत्वका विषयमा विभिन्न संस्थाबीच सहकार्य र समन्वयलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाइएको छ।
कार्यक्रमको समापनमा आयोजकले सहआयोजक १२ वटै मुस्लिम संस्था, एनआरएनए तथा अन्य नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व, व्यवसायी, पत्रकार तथा सम्पूर्ण सहभागीलाई धन्यवाद तथा आभार व्यक्त गरेको थियो।













