सर्लाहीमा मोटरसाइकल दुर्घटना: दुई युवकको मृत्यु, एक गम्भीर घाइते

सर्लाही । सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित मधुवनी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटना शुक्रबार राति करिब ९ बजे भएको हो।

प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ३० एएल ३१८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब साढे पाँच फिट तल रहेको पुलको साइफनमा खसेर ठोक्किएको थियो।

दुर्घटनामा बलरा नगरपालिका–६ का १७ वर्षीय अभिनाष बैठा र सोही स्थानका १८ वर्षीय रोहित बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मोटरसाइकल चालक अभिनाष गम्भीर घाइते भएपछि तत्काल प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। उपचारका क्रममा शुक्रबार राति करिब १०ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

त्यसैगरी, मोटरसाइकलमा बीचमा सवार रोहितको दुवै खुट्टा तथा शरीरको भित्री भागमा गम्भीर चोट लागेको थियो। उनलाई मलङ्गवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो। तर शनिबार बिहान करिब २ः३१ बजे बाटोमै उनको मृत्यु भएपछि अस्पताल ल्याएर चिकित्सकले मृत्यु पुष्टि गरेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार २४ वर्षीय शनि कुमार बैठा दुर्घटनामा गम्भीर घाइते भएका छन्। भारतको बिहार राज्य, सीतामढी जिल्ला बथनाहा थाना रनौली–१० घर भई हाल बलरा नगरपालिका–६ मा बस्दै आएका उनको दाहिने खुट्टा भाँचिएको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय गडहियाबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएको छ।

दुर्घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। मृतक दुवैको शव प्रादेशिक अस्पताल मलङ्गवाको शवगृहमा राखिएको स्थानीय रिपोर्टमा उल्लेख छ।