रसुवा बाढी: मधेसका १२७ सम्पर्कविहीन मध्ये १५ जना परिवारको सम्पर्कमा

सर्लाही । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका मधेस प्रदेशका १२७ जनामध्ये १५ जना आज परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि प्रदेशका विभिन्न जिल्लाका १२७ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये १५ जना टेलिफोनमार्फत परिवारको सम्पर्कमा आएका हुन्।

प्रहरीका अनुसार हाल सप्तरीका ३२, पर्साका २८, रौतहटका १५, बाराका १९, सर्लाहीका १०, महोत्तरीका १०, धनुषाका पाँच र सिरहाका आठ जना अझै सम्पर्कविहीन रहेका छन्।

आज दिउँसोसम्म पर्साको वीरगञ्ज महानगरपालिकामा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी, ईशनाथ नगरपालिका–४ का सेख मजिद तथा चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल परिवारको सम्पर्कमा आएका छन्।

त्यस्तै, सर्लाहीको लालबन्दी नगरपालिका–१ का बृजकिशोर दास, सुनिता दास र श्यामलाल मोक्तान, महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव तथा धनुषाको सबैला नगरपालिकाका लक्ष्मण मेहता, हङ्सपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार पनि परिवारको सम्पर्कमा आएका छन्।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट थुप्रै नागरिक रसुवामा सम्पर्कविहीन भएको सूचना आउन थालेपछि प्रहरीले उनीहरूको विवरण संकलन गरी खोजी कार्य अघि बढाएको जनाएको छ। बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेका व्यक्तिको खोजी तथा अवस्थाबारे जानकारी लिन विवरण संकलन गरिएको प्रहरीको भनाइ छ।

रोजगारी, व्यवसाय तथा अन्य कामका सिलसिलामा मधेसका विभिन्न जिल्लाबाट रसुवा पुगेका नागरिकसमेत बाढीको चपेटामा परेपछि उनीहरूका परिवार तथा आफन्त चिन्तित बनेका छन्।

सम्पर्कविहीन व्यक्तिहरूको खोजी, उद्धार तथा पहिचानका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताए। उनले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय तथा स्थानीय प्रशासनलाई तत्काल जानकारी गराउन परिवार तथा आफन्तलाई आग्रह गरेका छन्।