सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्।

मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आज साँझ ५ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले)ले गत असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्।

संवैधानिक व्यवस्थाअनुसार सरकारलाई दिएको समर्थन फिर्ता भएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार शाहले विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गर्न मुख्यमन्त्री शाहले बुधबार नै प्रदेशसभा सचिवालयलाई पत्र पठाएका थिए। उनले सभामुख भीमबहादुर भण्डारीलाई समेत विश्वासको मत लिन लागेको जानकारी गराएका छन्।

५३ सदस्यीय प्रदेशसभामा कस्तो छ अंकगणित?

सुदूरपश्चिम प्रदेशसभामा कुल ५३ जना सदस्य छन्। तीमध्ये नेपाली कांग्रेसका १८, नेकपाका सभामुखसहित २२, नेकपा (एमाले)का ११ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रदेशसभा सदस्य छन्।

सरकार गठन तथा विश्वासको मतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेशसभा सचिवालयका अनुसार हाल एक जना प्रदेशसभा सदस्य देशबाहिर छन् भने अर्का एक जना निलम्बनमा रहेका छन्। यस्तो अवस्थामा विश्वासको मतका लागि आवश्यक अंकगणित थप महत्वपूर्ण बनेको छ।

एमाले र नेकपाबीच नयाँ सरकार बनाउने सहमति

यसैबीच, नेकपा (एमाले) र नेकपाबीच सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका विषयमा सहमति भइसकेको छ। सहमतिअनुसार आगामी प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने बताइएको छ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो। शाहले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

अब साँझ बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाउँछन् वा पाउँदैनन् भन्ने विषयले सुदूरपश्चिमको आगामी राजनीतिक समीकरण निर्धारण गर्नेछ।