मसाज गर्दा किन आउँछ मज्जा ? वैज्ञानिकले पत्ता लगाए खास कारण

एजेन्सी । के तपाईंले कहिल्यै गर्दन वा अनुहारको मसाज गराउनुभएको छ? केवल ५–१० मिनेटको मसाजले शरीर हलुका हुने, मन शान्त हुने र ताजगी महसुस हुने गर्छ। तर यस्तो अनुभव किन आउँछ भन्ने विषयमा वैज्ञानिकहरूले नयाँ खुलासा गरेका छन्।

मसाजले दिमाग सफा गर्छ

दक्षिण कोरियाका वैज्ञानिकहरूले भनेका छन् कि गर्दन र अनुहारको हल्का मसाजले दिमागको प्राकृतिक सफाइ प्रक्रिया तीव्र बनाउँछ। इन्स्टिच्यूट अफ बेसिक साइन्सका अनुसन्धानकर्ताहरूले मुसामा गरेको प्रयोगबाट यो निष्कर्ष निकालेका हुन्।

अध्ययन अनुसार अनुहार र गर्दनको छालामा हल्का यान्त्रिक मसाज गर्दा दिमागबाट बग्ने सेरेब्रोस्पाइनल फ्लुइड (CSF) को प्रवाह सामान्यभन्दा करिब दोब्बर छिटो हुने देखिएको छ।

सेरेब्रोस्पाइनल फ्लुइडको महत्व

वैज्ञानिकहरूका अनुसार दिमागले दैनिक रूपमा हानिकारक प्रोटिन र फोहोर पदार्थ उत्पादन गर्छ। यदि यी पदार्थ समयमै बाहिर ननिस्किएमा अल्जाइमर र पार्किन्सन जस्ता गम्भीर स्नायुरोगको जोखिम बढ्न सक्छ। दिमागले यो फोहोर सेरेब्रोस्पाइनल फ्लुइडमार्फत लिम्फेटिक नलीहरूको सहयोगले शरीरबाहिर निकाल्छ।

अनुसन्धानमा अनुहार र गर्दनमुनि रहेका लिम्फेटिक नलीहरूलाई हल्का मसाज गर्दा तिनको कार्यक्षमता उल्लेखनीय रूपमा बढ्ने देखिएको छ।

उमेरसँगै दिमागको सफाइ प्रणालीमा सुधार

अध्ययनले देखाएको अर्को महत्वपूर्ण पक्ष भनेको यो विधि विभिन्न उमेरका मुसामा पनि प्रभावकारी देखिनु हो। उमेरसँगै कमजोर हुँदै गएको दिमागको सफाइ प्रणाली मसाजपछि पुनः सामान्य स्तरमा फर्किएको छ।

साथै, दिमागबाट अनुहारका लिम्फ नोड्ससम्म जाने केही नयाँ जैविक मार्गहरू पनि पहिचान गरिएको छ, जुन मार्गहरू वृद्ध अवस्थामा पनि सक्रिय रहने देखिएका छन्।

भविष्यका सम्भावनाहरू

वैज्ञानिकहरूले बताए अनुसार यो खोजले अल्जाइमरजस्ता स्नायुरोगको रोकथाम वा गति कम गर्न सस्तो र सुरक्षित उपाय विकास गर्न मद्दत पुर्‍याउन सक्छ। साथै घरमै प्रयोग गर्न मिल्ने गर्दन मसाज उपकरण निर्माण गर्ने सम्भावनाबारे पनि छलफल भइरहेको छ।

तर हालसम्मको अध्ययन मुसामा मात्र सीमित रहेको र मानिसमा यसको प्रभाव पुष्टि गर्न थप अनुसन्धान आवश्यक रहेको वैज्ञानिकहरूले स्पष्ट पारेका छन्।