एजेन्सी । कार्यालय समयमा मदिरा सेवन गर्नु प्रायः अशोभनीय र अमर्यादित मानिन्छ भने यसले बर्खास्तगीको कारण पनि बन्न सक्छ। तर स्पेनको एक अदालतले कार्यालय समयमा बारम्बार रक्सी पिएका एकजना कामदारको पक्षमा अचम्मको फैसला सुनाएको छ। अदालतले कामदारलाई करिब ८० लाख नेपाली रूपैयाँ बराबर क्षतिपूर्ति दिने आदेश समेत दिएको छ।
नाम नखुलाइएका विद्युत कम्पनीका ती कामदारले कार्यस्थलमा असामान्य व्यवहार देखाइरहेका थिए। यसपछि कम्पनीले उनलाई निगरानी गर्न एकजना व्यक्ति खटायो। केही दिनको निगरानीमा उनी कार्यालय समयमै बार तथा पार्किङ स्थलमा बियर पिउँदै गरेको देखिए। एक दिन दिउँसोको विश्राम समयमा उनले करिब तीन लिटर बियर पिएको रिपोर्ट जासुसले पेश गरेको थियो।
कम्पनीका लागि कार्यसमयमा मदिरा सेवन गम्भीर गल्ती थियो, विशेष गरी ती कामदार कम्पनीको सवारी साधन चलाउने जिम्मेवारीमा थिए। यसरी कार्यसमयमा मदिरा सेवन गर्दा दुर्घटनाको जोखिम थियो। कम्पनीले उनलाई जागिरबाट निकाल्ने निर्णय गर्यो। तर उनले बर्खास्ती अस्वीकार गर्दै अदालतमा मुद्दा दायर गरे।
मर्सियाको उच्च न्यायालयले कामदारको पक्षमा फैसला गर्दै बर्खास्तीलाई अनुचित घोषणा गर्यो। अदालतले कामदारले गरेको गल्ती स्वीकार भए तापनि दिइएको सजाय अत्यधिक भएको निष्कर्ष निकाल्दै कम्पनीलाई दुई विकल्प दिएको छ – या त कामदारलाई पुनर्बहाली गर्ने वा ४७ हजार युरो क्षतिपूर्ति दिने।
अदालतको निर्णयमा दिउँसोको लन्च ब्रेक प्राविधिक रूपमा कार्यसमय नमानिने भएकाले उक्त समयमा मदिरा सेवनलाई औपचारिक अनुशासनहीनता मान्न नमिल्ने र कम्पनीले कार्यसम्पादनमा असर परेको प्रमाण पेश गर्न नसकेको कुरालाई आधार बनाइएको छ। साथै, स्पेनी कानुनअनुसार केवल कहिलेकाहीँ हुने मदिरा सेवनको आधारमा बर्खास्त गर्न नपाइने र लत प्रमाणित हुनुपर्ने कुरा अदालतले स्पष्ट पारेको छ।















