एजेन्सी । नेपाली कामदार सहित कुवेतमा बसोबास गर्ने विदेशी कामदारमाथि एक महिनामा कडा कारबाही भएको छ। कुवेतले अक्टोबर १ देखि नोभेम्बर २ तारिखसम्म २ हजार १९० आप्रवासी कामदारलाई देश निकाला गरेको छ।
कुवेतको गृह मन्त्रालयका अनुसार, देश निकाला गरिएका कामदारहरूले आवासीय कानून उल्लङ्घन गरेका थिए। यो निर्णय कुवेतका गृह मन्त्री शेख थामेर अल-अली ले लिएका थिए भने उपसचिव लेफ्टिनेन्ट जनरल शेख फैसल अल-नवाफ ले त्यसपछि कार्यान्वयन गरेका थिए।
यसअघि कुवेतले गैरकानुनी रुपमा बस्ने बिदेशी कामदारलाई कानूनी प्रक्रिया पूरा गरी देशमै बस्न वा सीमित जरिवाना तिरेर फर्किन समय दिएको थियो। तर समयमा फर्किन नसकेका कामदारमाथि कडा कारबाही गरिएको छ।
कुवेतले गैरकानुनी रूपमा बसेका विदेशी कामदारमाथि विशेष धडपकड अभियान चलाएको थियो। यस अभियानमा आवासीय भिसा अनुमति बिनै लुकीछिपी बसिरहेका हजारौं विदेशी कामदार पक्राउ परेका थिए। तर जेल भरिएको कारण तत्काल धडपकड अभियान स्थगित गरिएको गृह मन्त्रालयले जनाएको छ।

















