टेन्जिङ फिल्मले ज्युरिख फिल्म फेस्टिभलको उद्घाटन गर्ने, तेन्जिङ नोर्गेको कथा पर्दामा

‘Tenzing’ फिल्मको पोस्टर

काठमाडौं। सगरमाथाको पहिलो सफल आरोहणसँग जोडिएको नेपाली शेर्पा पर्वतारोही तेन्जिङ नोर्गेको कथामा आधारित फिल्म ‘टेन्जिङ’ले २२औँ ज्युरिख फिल्म फेस्टिभलको उद्घाटन गर्ने भएको छ।

ज्युरिख फिल्म फेस्टिभलका अनुसार एप्पल ओरिजिनल फिल्मको युरोपेली प्रिमियर आगामी सेप्टेम्बर २४, २०२६ मा ज्युरिखको कङ्ग्रेसहाउसमा हुनेछ। उद्घाटन कार्यक्रममा अभिनेता टम हिडल्स्टन, विलेम डाफो र निर्देशक जेनिफर पिडम सहभागी हुनेछन्।

फिल्ममा गेन्डेन फुन्ट्सोकले तेन्जिङ नोर्गेको भूमिका निर्वाह गरेका छन् भने हिडल्स्टनले एडमन्ड हिलारी र डाफोले बेलायती अभियानका नेता जोन हन्टको भूमिका खेलेका छन्। फिल्मले सन् १९५३ को ऐतिहासिक आरोहणसँगै तेन्जिङले बेलायती टोलीभित्र एक सहयोगीका रूपमा मात्र नभई समान हैसियतका पर्वतारोहीका रूपमा आफ्नो स्थान बनाउन गरेको संघर्षलाई पनि कथाको केन्द्रमा राखेको छ।

ज्युरिख फिल्म फेस्टिभलको यस वर्षको मूल नारा ‘Dream Big’ रहेको छ। आयोजकले तेन्जिङको सपना, साहस र शेर्पा समुदायप्रतिको सम्मानलाई यो नारासँग जोडिएको उपयुक्त उद्घाटन कथा मानेको छ।

नेपाल न्यूजले पनि फिल्मलाई ज्युरिख फिल्म फेस्टिभलको उद्घाटन फिल्मका रूपमा चयन गरिएको र नेपालमा पनि विशेष प्रदर्शनको तयारी भइरहेको जनाएको छ।

‘टेन्जिङ’को युरोपेली प्रिमियरपछि अक्टोबर ९ मा सीमित हल प्रदर्शन र अक्टोबर १६ देखि एप्पल टीभीमा प्रदर्शन हुने ज्युरिख फिल्म फेस्टिभलले जनाएको छ।

तस्बिर: ज्युरिख फिल्म फेस्टिभल/एप्पल टीभी