दोहा, कतार । कतारमा रहेका नेपाली मुस्लिम समुदायले नेपालका बाढीपहिरो प्रभावितका लागि ४१ लाख रुपैयाँभन्दा बढी राहत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्।
‘नेपाल बाढीपीडित राहत अभियान’ अन्तर्गत संकलित ४१ लाख ७ हजार ७२१ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले जनाएको छ।
रसुवागढी तथा आसपासका भोटेकोसी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले समाजको पहलमा कतारमा रहेका विभिन्न नेपाली मुस्लिम संघ–संस्थाको सहकार्यमा राहत रकम संकलन गरिएको हो।
राहत अभियानमा नेपाली मुस्लिम शान्ति समाज, फख्र मिल्लत फाउन्डेसन, नेपाल इस्लामिक ग्रुप, नेपाली मुस्लिम फाउन्डेसन धनुषा, रमौल मुस्लिम सेवा समाज, महोत्तरी मुस्लिम कमिटी संघ, नेपाली मुस्लिम परिषद्, मन्सुरी एकता मञ्च र नेपाल मुस्लिम एकता समाज लगायतका संस्थाको सहभागिता रहेको जनाइएको छ।
१ करोडको सामुदायिक कोष बनाउने योजना
राहत अभियानलाई तत्कालीन सहयोगमा मात्र सीमित नराखी कतारमा रहेका नेपाली मुस्लिम संघ–संस्थालाई समेटेर दीर्घकालीन सामाजिक तथा आर्थिक परियोजना सञ्चालन गर्ने प्रस्ताव समेत अघि सारिएको छ।
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष अजमत अलीले न्यूनतम १ करोड रुपैयाँको सामुदायिक कोष निर्माण गरी ‘चेन कमान परियोजना’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन्।
परियोजनामार्फत कृषि, कृषि उत्पादनको प्रशोधन, उत्पादन तथा बजारीकरणलाई जोड दिँदै दिगो आर्थिक प्रणाली निर्माण गर्ने लक्ष्य राखिएको छ। यसबाट प्राप्त आम्दानीमार्फत विपन्न समुदायका विद्यार्थीको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने योजना रहेको अध्यक्ष अलीले बताएका छन्।
समाजका अनुसार राहत संकलन अभियान अझै जारी रहनेछ। तत्कालीन राहतसँगै शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक आत्मनिर्भरताका क्षेत्रमा दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ।
समाजले जारी गरेको विज्ञप्तिमा ‘योगदानबाट पुँजी, पुँजीबाट उत्पादन, उत्पादनबाट आम्दानी, आम्दानीबाट समुदायको विकास’ भन्ने अवधारणाका आधारमा सामाजिक तथा आर्थिक सशक्तीकरणका कार्यक्रम अघि बढाउने उल्लेख गरिएको छ।













