काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारबाट संकलन गरिएका १० वटा तरकारी तथा फलफूलका नमुना विषादी अवशेष परीक्षणमा उपभोगयोग्य पाइएको छ।
केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले गरेको परीक्षणमा सबै नमुना उपभोगका लागि योग्य देखिएका हुन्।
प्रयोगशालाले २०८३ साल साउन २८ गते परीक्षण गरेका नमुनामा चिचिण्डा, काँक्रो, गोलभेडा, आलु, प्याज, लौका, घिउसिमी र भेडे खुर्सानीलगायत रहेका छन्।
परीक्षण गरिएका नमुनामध्ये चितवनको चिचिण्डा, दक्षिणकाली नगरपालिका काठमाडौंको काँक्रो, भक्तपुर नगरपालिकाको गोलभेडा, पनौती नगरपालिकाको आलु, सल्यानको आलु तथा भारतबाट आयातित प्याज रहेका छन्।
त्यस्तै, चितवनको लौका, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाबाट ल्याइएको घिउसिमी तथा मकवानपुरको थाहा नगरपालिकाबाट संकलित भेडे खुर्सानीको नमुनासमेत परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ।
परीक्षण गरिएका सबै नमुनाको कैफियतमा ‘उपभोग योग्य’ उल्लेख गरिएको छ।
कार्बामेट र अर्गानोफस्फेट समूहका विषादी परीक्षण
प्रयोगशालाका अनुसार परीक्षणका क्रममा मुख्यतः कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशकको अवशेष परीक्षण गरिएको हो। प्रयोगशालाले यी दुई समूहबाहेक अन्य विषादी तथा रसायनका हकमा उक्त परीक्षणको नतिजा लागू नहुने स्पष्ट पारेको छ।
विषादी अवशेषको रोकावट प्रतिशतका आधारमा प्रयोगशालाले तरकारी तथा फलफूललाई विभिन्न श्रेणीमा वर्गीकरण गर्ने गरेको छ।
३५ प्रतिशतभन्दा कम रोकावट भएका नमुनालाई उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भएका नमुनालाई केही दिन राखेर पुनः परीक्षण गर्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी रोकावट भएका नमुनालाई विसर्जन गर्नुपर्ने व्यवस्था रहेको प्रयोगशालाले जनाएको छ।
यस परीक्षणबाट साउन २८ गते कालीमाटी बजारबाट संकलित परीक्षण गरिएका सबै १० नमुना तोकिएको मापदण्डअनुसार उपभोगयोग्य रहेको देखिएको हो।





























