काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाको शिक्षा क्षेत्र पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले करिब २ अर्ब ३४ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) सम्मिलित संयुक्त प्राविधिक टोलीले तयार गरेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकनका आधारमा यो अनुमान गरिएको हो।
मूल्यांकनअनुसार बाढीबाट रसुवाका १८ विद्यालय प्रभावित भएका छन्। तीमध्ये ११ विद्यालयका भवन पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ७ विद्यालयमा आंशिक क्षति पुगेको छ। भवनसँगै शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्तिमा समेत क्षति पुगेको छ।
बाढीपछि प्रभावित क्षेत्रमा ९ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। तत्काल विद्यालयको पूर्वाधार पुनःस्थापना गरी कक्षा सञ्चालनमा ल्याउन १० करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ। दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनाका लागि करिब २ अर्ब २४ करोड रुपैयाँ आवश्यक पर्ने सरकारको आकलन छ।
प्रभावित विद्यार्थीको पढाइ निरन्तरता दिन सरकारले ‘सिक्योर्ड फ्युचर स्कलरसिप स्किम’ घोषणा गरेको छ। यसअन्तर्गत अभिभावक गुमाएका वा विस्थापित भएका विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन जारी राख्न सहयोग गर्ने व्यवस्था गरिएको छ।
सरकारको आग्रहमा निजी विद्यालय सञ्चालकका पाँच संस्थाले १ हजार बाढी प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउन १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
स्थानीय तहहरूले पनि विस्थापित विद्यार्थीलाई उनीहरू हाल बसिरहेको स्थान नजिकका विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउँदै तत्काल कक्षा सञ्चालनमा सहजीकरण गरिरहेका छन्।
स्रोत: द काठमाडौँ पोस्ट, रिपब्लिका
फोटो क्रेडिट: Hemanta Shrestha/TKP