# हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ

- Link: https://merosath.com/%e0%a4%b9%e0%a5%87%e0%a4%9f%e0%a5%8c%e0%a4%82%e0%a4%a1%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%b8%e0%a4%88%e0%a4%88%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%80/
- Published: ७ महिना अगाडि
- Author: मेरो साथ

हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन 
आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी रोडस्थित
सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा सिन्धुली
मरिन गाउँपालिका-४ घर भई हाल हेटौंडा-४ बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा
लिएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

बिक अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका थिए।
उनी हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेको डीएसपी बोगटीले
बताए ।

बिकले हेटौंडा-१२ पदमपोखरी घर भएका किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको
नाममा जारी प्रवेशपत्र प्रयोग गरी नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिन आएको प्रहरीले
उल्लेख गरेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अंकिश श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ। दुवै
जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको डीएसपी बोगटीले
बताए ।
