# वैदेशिक रोजगारीमा गएका मधेसका १४४ युवाले एक वर्षमा गुमाए ज्यान

- Link: https://merosath.com/%e0%a4%b5%e0%a5%88%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%ae/
- Published: २ महिना अगाडि
- Author: मेरो साथ

**सर्लाही ।** पछिल्लो एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ जना युवाले
ज्यान गुमाएका छन् । सो अवधिमा मधेस प्रदेशका आठ जिल्लाबाट **एक लाख ७९ हजार ३९ जना**
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका थिए ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनकपुरधाममा आयोजना गरेको समीक्षा कार्यक्रममा
वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले यस्तो तथ्यांक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रस्तुत विवरणअनुसार धनुषाबाट सबैभन्दा धेरै **३८ हजार ५५३ जना** वैदेशिक
रोजगारीमा गएका छन् । त्यस्तै सिरहाबाट ३० हजार २११, महोत्तरीबाट २८ हजार २२९, सर्लाहीबाट
२३ हजार २७३, सप्तरीबाट २० हजार ५५९, बाराबाट १५ हजार ५५५, रौतहटबाट १४ हजार ६८२ र 
पर्साबाट सात हजार ९७७ जना वैदेशिक रोजगारीमा गएको तथ्यांक छ ।

### सर्लाहीबाट २३ हजारभन्दा बढी वैदेशिक रोजगारीमा

मधेसका आठ जिल्लामध्ये सर्लाहीबाट मात्रै **२३ हजार २७३ जना** वैदेशिक रोजगारीमा गएका
छन् । तीमध्ये **एक हजार ३८९ जना महिला** रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै बाराबाट एक हजार ८८, रौतहटबाट ५२५, पर्साबाट ३३८, महोत्तरीबाट ४४७, धनुषाबाट
४१३, सप्तरीबाट २६९ र सिरहाबाट ३०४ जना महिला वैदेशिक रोजगारीमा गएको बताइएको छ ।

### ६३ हजारभन्दा बढीले लिए परामर्श

सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रबाट पछिल्लो अवधिमा**
६३ हजार १४० जनाले सेवा तथा परामर्श** लिएका छन् ।

परामर्श लिनेमा ५७ हजार २२५ पुरुष, पाँच हजार ९१४ महिला र एक जना अन्य लैङ्गिक समूहका
व्यक्ति रहेका छन् ।

श्रम तथा यातायात मन्त्रालयका शाखा अधिकृत नविनकुमार शर्माका अनुसार आर्थिक वर्ष २०८२/
८३ मा वैदेशिक रोजगारीसँग सम्बन्धित **६७५ वटा समस्या समाधान** गरिएको छ ।

त्यसैगरी पीडितमध्ये १५९ जनालाई ठगी गर्ने वा पीडक पक्षबाट **२२ करोड एक लाख ७८ हजार
४०३ रुपैयाँ** फिर्ता गराइएको उनले जानकारी दिए ।

### वैदेशिक रोजगारीअघि सही सूचना लिन आग्रह

सामी कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई गन्तव्य मुलुक, रोजगारीको
प्रक्रिया, श्रम स्वीकृति, आवश्यक सीप, लागत, बीमा तथा कानुनी अधिकारलगायतका विषयमा
सूचना र परामर्श प्रदान हुँदै आएको छ ।

श्रम तथा यातायातमन्त्री शारदा थापाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित
बनाउन **पूर्वसूचना तथा परामर्श सेवाको पहुँच विस्तार गर्नुपर्ने** आवश्यकता औँल्याइन्।

वैदेशिक रोजगारीमा जानुअघि सही र आधिकारिक सूचना प्राप्त गर्न सके ठगी, अत्यधिक लागत,
अवैध बाटोबाट हुने प्रस्थान तथा रोजगारसम्बन्धी अन्य जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने
अपेक्षा गरिएको छ ।

कार्यक्रम श्रम तथा यातायात मन्त्रालयका वरिष्ठ उपसचिव धनञ्जयकुमार सिंहको अध्यक्षतामा
सम्पन्न भएको थियो ।
