# विद्यालय शिक्षा विधेयकमाथि छलफल सुरु, शिक्षकदेखि अभिभावकसम्मका विषय समेट्ने तयारी

- Link: https://merosath.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%be/
- Published: २ महिना अगाडि
- Author: मेरो साथ

**काठमाडौं ।** शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई परिमार्जन
गर्दै अघि बढाउन सर्वपक्षीय छलफल सुरु गरेको छ । प्रदेशस्तरमा सुझाव संकलन गरिसकेको
मन्त्रालयले आइतबार काठमाडौंमा स्थानीय तहका जनप्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका
प्रतिनिधि, शिक्षाविद्, विद्यार्थी र अभिभावकसँग विधेयकमाथि छलफल गरेको हो ।

मन्त्रालयले प्रस्तावित शिक्षा ऐनलाई व्यवहारिक, समावेशी र संविधानको मर्मअनुकूल बनाउन
विभिन्न पक्षसँग सुझाव लिन थालेको जनाएको छ । छलफलबाट प्राप्त सुझावका आधारमा विधेयकलाई
थप परिपक्व बनाउने तयारी मन्त्रालयको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको सुझाव समेटेर मात्र शिक्षा
विधेयकलाई प्रभावकारी बनाउन सकिने बताए । उनले विधेयक निर्माण प्रक्रिया सुरुदेखि नै
व्यापक छलफल र सहभागितामूलक ढङ्गबाट अघि बढाउने जानकारी दिए ।

मन्त्री पोखरेलका अनुसार नयाँ शिक्षा ऐनमा प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, 
विद्यालय कर्मचारी, शिक्षक र अभिभावकका विषयलाई प्राथमिकताका साथ समेटिनेछ । संविधानको
मर्म र शिक्षाको वर्तमान आवश्यकतालाई समेत ध्यानमा राखेर ऐन निर्माण गरिने उनले बताए।

उनले प्रारम्भिक बाल विकासका शिक्षक तथा सहजकर्ताको पारिश्रमिकको विषयलाई समेत ऐनमा
सम्बोधन गरिने जानकारी दिए । बालविकास शिक्षकको तलब अझै वृद्धि गर्ने विषयमा सरकार 
सकारात्मक रहेको संकेत गर्दै उनले उनीहरूका समस्या र अधिकारलाई कानुनी रूपमा सम्बोधन
गरेर अघि बढ्ने बताए ।

“शिक्षाको फराकिलो मार्गसहितको शिक्षालाई प्राथमिकतामा राखेर शिक्षा ऐन तयार हुनुपर्छ,”
मन्त्री पोखरेलले भने ।

### शिक्षक र अभिभावकका सवाल पनि समेट्नुपर्ने

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामुदायिक तथा संस्थागत दुवै 
विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए । उनले
शिक्षा ऐनलाई लामो समयसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने गरी परिपक्व बनाउनुपर्ने
धारणा राखे ।

अभिभावक महासंघका निवर्तमान अध्यक्ष सुप्रभात भण्डारीले नयाँ शिक्षा ऐनले शिक्षा क्षेत्रका
विद्यमान समस्याको समाधान र स्पष्ट निकास दिनुपर्ने बताए ।

उनका अनुसार नयाँ ऐनले आजको शिक्षाको आवश्यकता, विद्यार्थीको अधिकार, शिक्षाको गुणस्तर
तथा संविधानको मर्मलाई केन्द्रमा राख्नुपर्छ ।

### पुरानो विधेयकलाई आधार मात्र बनाइने

शिक्षामन्त्री पोखरेलका सल्लाहकार शैलेन्द्र झाले विद्यार्थी र अभिभावकका सवाललाई प्राथमिकतामा
राखेर विधेयकमाथि छलफल सुरु गरिएको बताए ।

उनका अनुसार यसअघि तयार भएको विद्यालय शिक्षा विधेयकलाई मन्त्रालयले अध्ययन गरिरहेको
छ । तर पुरानो विधेयकलाई जस्ताको तस्तै अघि बढाउनुको सट्टा त्यसलाई आवश्यकताअनुसार 
पुनरावलोकन गरिनेछ ।

“पहिले तयार भएको विधेयकलाई अध्ययन गरिरहेका छौँ । शिक्षा नियमावली, उच्च शिक्षा नियमावली
पनि जारी भइसकेकाले अब बन्ने शिक्षा ऐनमा ती कुरा समेटिनुपर्छ,” झाले भने ।

उनले स्थानीय तहदेखि नै सुझाव संकलन गरी विधेयक निर्माण प्रक्रिया अघि बढाइने बताए ।
पुराना छलफल र सुझावलाई सन्दर्भका रूपमा लिइए पनि नयाँ विधेयकमा सुरुदेखि नै काम गर्ने
मन्त्रालयको तयारी रहेको उनको भनाइ छ ।

### यसै साता मन्त्रालयस्तरीय कमिटी गठन हुने

झाका अनुसार विधेयकमाथि व्यापक छलफल गर्न मन्त्रालयअन्तर्गत यसै साता कमिटी गठन गरिनेछ।
उक्त कमिटीले विभिन्न सरोकारवालासँग थप छलफल तथा सुझाव संकलन गरी प्रतिवेदन तयार गर्नेछ।

तयार भएको प्रतिवेदन शिक्षा समितिमा बुझाइने मन्त्रालयले जनाएको छ । त्यसपछि प्राप्त
सुझाव, संवैधानिक व्यवस्था तथा शिक्षा क्षेत्रका विद्यमान आवश्यकता समेटेर विद्यालय
शिक्षा विधेयकलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाइनेछ ।

विद्यालय शिक्षा क्षेत्रमा शिक्षक व्यवस्थापन, विद्यालय कर्मचारीको सेवा–सुविधा, प्रारम्भिक
बाल विकास, सामुदायिक तथा संस्थागत विद्यालयको गुणस्तर, विद्यार्थी र अभिभावकका अधिकारलगायत
विषय लामो समयदेखि बहसमा छन् । मन्त्रालयले सुरु गरेको सर्वपक्षीय छलफलले यी विषयलाई
नयाँ शिक्षा ऐनमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा
गरिएको छ ।
