राजमार्ग विस्तारपछि साँघुरियो लालबन्दीको तरकारी बजार, दुर्घटनाको जोखिम उच्च

सर्लाही । पूर्व–पश्चिम महेन्द्र राजमार्ग विस्तारपछि लालबन्दीस्थित थोक तरकारी बजार साँघुरिँदा किसान, व्यापारी तथा यात्रुले सास्ती खेप्नुपरेको छ । बजारभित्र पर्याप्त ठाउँ नहुँदा किसान र व्यापारीले राजमार्गमै तरकारीको किनबेच गर्न थालेपछि बिहानको समयमा सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको हो ।

मधेश प्रदेशकै प्रमुख थोक तरकारी बजारमध्ये पर्ने लालबन्दीमा सर्लाही र महोत्तरीका किसानले दैनिक ठूलो परिमाणमा तरकारी बिक्रीका लागि ल्याउने गरेका छन् । बिहान ६ बजेदेखि करिब ९ बजेसम्म बजारमा किसान, व्यापारी र विभिन्न प्रकारका सवारीसाधनको अत्यधिक भीड लाग्ने गरेको छ ।

राजमार्ग विस्तारपछि बजारको गेटसम्मै पुल निर्माण भएर सवारीसाधन सञ्चालनमा आएपछि समस्या थप जटिल बनेको स्थानीयको भनाइ छ । तरकारी बिक्री गर्न आएका किसानका साइकल, मोटरसाइकल, टेम्पो, म्याजिकलगायतका सवारीसाधन सडकसम्मै पुग्दा राजमार्गमा समेत भीड हुने गरेको छ ।

लालबन्दी नगरपालिका–५ का स्थानीय हरिप्रसाद धमलाले हरेक दिन बिहान तरकारी बजार आसपासको अवस्था अस्तव्यस्त हुने गरेको बताए ।

“बिहान किसान एकैपटक ठूलो सङ्ख्यामा तरकारी लिएर आउँदा बजार भरिएर राजमार्गसम्मै ढाकिन्छ । बजार व्यवस्थित नगर्ने हो भने जुनसुकै बेला गम्भीर दुर्घटना हुन सक्छ,” उनले भने ।

प्रहरीलाई समेत भीड व्यवस्थापन गर्न कठिन

बजारमा भीड बढेका बेला राजमार्गमा सवारी आवागमन सहज बनाउन प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गर्नुपर्ने अवस्था आएको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक श्याम थापा मगरले तरकारी बजारमा अत्यधिक चाप भएका बेला प्रहरी पुगेर सहजीकरण गर्ने गरेको बताए ।

“हाइवेमा समेत चाप भएका बेला हामी र ट्राफिक प्रहरी पुगेर सहयोग गर्ने गरेका छौँ,” उनले भने ।

कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमोद थपलियाका अनुसार बजारको क्षेत्रफल कम भएकाले बिहानको समयमा भीड व्यवस्थापन गर्न निकै कठिन भइरहेको छ ।

“दुई जना गार्डले मात्र नसकेपछि थप दुई जना गार्ड राख्दा पनि नियन्त्रण गर्न गाह्रो भइरहेको छ,” उनले भने, “सडकबाट भीड हटाउन हाम्रा गार्ड र नगर प्रहरीले मात्र नभ्याएपछि ट्राफिक प्रहरी र नेपाल प्रहरीसँग सहयोग मागिरहेका छौँ।”

१८ कठ्ठा क्षेत्रफलमा सीमित बजार

लालबन्दी नगरपालिका–७ स्थित डुमडुमे मन्दिर अगाडिको थोक तरकारी बजारमा चार कठ्ठा नम्बरी र बाँकी १४ कठ्ठा ऐलानी जग्गा रहेको छ । बजारमा दैनिक आउने किसान र व्यापारीको सङ्ख्याको तुलनामा उपलब्ध क्षेत्रफल निकै कम भएकाले तरकारीको कारोबार सडकसम्म फैलिन पुगेको बजार व्यवस्थापन समितिको भनाइ छ ।

बजारलाई विस्तार गरी राजमार्गसम्म व्यापार हुन नदिने उद्देश्यले पछाडिपट्टि थप जग्गा खरिद गर्न नगरपालिकासँग पहल गरिए पनि हालसम्म ठोस प्रगति हुन नसकेको अध्यक्ष थपलियाले बताए ।

करोडौँ खर्चिएर बनाइएको बजार प्रयोगविहीन

एकातर्फ लालबन्दीको मुख्य तरकारी बजारमा ठाउँ अभाव भएर सडकसम्मै व्यापार गर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ नगरपालिकाले निर्माण गरेको अर्को तरकारी बजार प्रयोगविहीन अवस्थामा छ ।

लालबन्दी नगरपालिका–१७ रानीगन्जमा करिब सवा करोड रुपैयाँ खर्चिएर चार बिघा क्षेत्रफलमा निर्माण गरिएको तरकारी बजार तथा त्यसका संरचना हालसम्म प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेका छैनन् ।

लालबन्दी बजारदेखि करिब चार किलोमिटरको दूरीमा रहेको रानीगन्जको बजार सञ्चालनमा ल्याउन सके मुख्य बजारमा रहेको चाप कम गर्न सकिने स्थानीयको भनाइ छ ।

रानीगन्ज र नवलपुरलाई उप–सङ्कलन केन्द्र बनाउने तयारी

लालबन्दी नगरपालिकाले मुख्य तरकारी बजारको चाप कम गर्न रानीगन्ज र नवलपुरका बजारलाई उप–सङ्कलन केन्द्रका रूपमा विकास गर्ने तयारी थालेको जनाएको छ ।

लालबन्दी नगरप्रमुख वासुदेव अधिकारीका अनुसार राजमार्ग विस्तारपछि बजार व्यवस्थापनका लागि नयाँ रणनीति आवश्यक भएको छ ।

“हाइवे विस्तार भएपछि धेरै कुरा व्यवस्थापन गर्नुपर्ने अवस्था छ । त्यसमध्ये लालबन्दीको तरकारी बजारलाई मुख्य सङ्कलन केन्द्र तथा रानीगन्ज र नवलपुरलाई उपकेन्द्र बनाएर भीड कम गर्ने विषयमा छलफल गरिरहेका छौँ,” उनले भने ।

नगरपालिकाले पूर्वतर्फबाट आउने तरकारी रानीगन्जमा तथा पश्चिमतर्फबाट आउने तरकारी नवलपुरमा बिक्री गर्ने व्यवस्था मिलाउने विकल्पमा समेत छलफल गरिरहेको छ ।

नगरप्रमुख अधिकारीका अनुसार किसान तथा व्यापारीलाई लालबन्दीको सट्टा रानीगन्ज वा नवलपुर गएर कारोबार गर्न आग्रह गर्दा तत्काल तयार हुने अवस्था छैन । त्यसैले तरकारी आउने क्षेत्रअनुसार उप–सङ्कलन केन्द्र विकास गरेर किसानलाई सहज हुने प्रणाली बनाउनुपर्ने आवश्यकता छ ।

किसानलाई सहज हुने गरी बजार व्यवस्थापन आवश्यक

लालबन्दीको तरकारी बजारमा देखिएको समस्या केवल बजारको क्षेत्रफलसँग मात्र सम्बन्धित छैन । सर्लाही र आसपासका जिल्लाका किसानको उत्पादन बजारसम्म ल्याउने, संकलन गर्ने, मूल्य निर्धारण गर्ने र ठूलो बजारमा पठाउने सम्पूर्ण प्रणालीसँग यो विषय जोडिएको छ ।

मुख्य बजारलाई व्यवस्थित नगरी किसानलाई अन्यत्र पठाउँदा उनीहरूको ढुवानी खर्च र समय बढ्न सक्छ । त्यसैले उप–सङ्कलन केन्द्र निर्माणसँगै सडक पहुँच, पार्किङ, लोडिङ–अनलोडिङ, भण्डारण तथा बजार मूल्यको पारदर्शी व्यवस्थापन पनि आवश्यक देखिन्छ ।

राजमार्गमै तरकारी किनबेच हुने अवस्था लामो समय कायम रहेमा किसान र व्यापारीसँगै राजमार्ग प्रयोग गर्ने यात्रु पनि जोखिममा पर्नेछन् । त्यसैले तत्कालका लागि बिहानको समयमा ट्राफिक व्यवस्थापन कडा बनाउने र दीर्घकालीन रूपमा व्यवस्थित थोक बजार सञ्चालन गर्ने योजना अघि बढाउनुपर्ने देखिन्छ ।

राजमार्ग विस्तारले यातायातलाई सहज बनाउने अपेक्षा गरिएको भए पनि त्यससँगै पुराना बजार तथा बस्तीको व्यवस्थापन चुनौती बनेको छ । लालबन्दीको तरकारी बजार त्यसैको एउटा उदाहरण बनेको छ । करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरिएका संरचनालाई प्रयोगमा ल्याउँदै किसान र व्यापारीलाई सहज हुने गरी बजारको विकेन्द्रीकरण गर्न सके सडकमा भइरहेको अव्यवस्थित कारोबार र दुर्घटनाको जोखिम दुवै घटाउन सकिने देखिन्छ ।

NO COMMENTS