# म्याग्दीमा सतुवा खेतीतर्फ किसानको आकर्षण, मूल्य घट्दा बजार संकट

- Link: https://merosath.com/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%a4%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80%e0%a4%a4%e0%a4%b0%e0%a5%8d/
- Published: ७ महिना अगाडि
- Author: मेरो साथ

म्याग्दी । धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसमा किसानहरूले परम्परागत अन्नबाली
छोडेर व्यावसायिक जडीबुटी खेतीतर्फ आकर्षण देखाएका छन् । स्थानीय किसान बलबहादुर रोकाले
चार रोपनी पाखोबारीमा सतुवा खेती सुरु गरेका छन् । उनले इलामबाट प्रतिगोटा रु ३० का
दरले बिरुवा ल्याएर रोपेका हुन् ।

रोकाका अनुसार यस वर्ष करिब १०० किलोग्राम सतुवा उत्पादन भएको छ । तर केही वर्षअघि 
प्रतिकिलो रु १६ हजारसम्ममा बिक्री हुने सतुवाको मूल्य घटेर अहिले करिब रु पाँच हजारमा
सीमित हुँदा बजार समस्या देखिएको छ । मूल्य घटेकै कारण उत्पादन बिक्री गर्न कठिन भएको
उनले बताए ।

खेती विस्तार गर्ने क्रममा रोकाले १० हजार नयाँ बिरुवा पनि तयार पारेका छन् । यसअघि
मकै, गहुँ, कोदो, उवा र जौँ खेती हुने जमिनमा अहिले सतुवा लगाइएको छ । समुद्री सतहबाट
करिब २,३०० मिटर उचाइमा रहेको माकुसको हावापानी र भूगोल सतुवा खेतीका लागि उपयुक्त 
रहेको उनको भनाइ छ ।

खेतीसँगै रोकाले व्यावसायिक बाख्रापालन पनि गर्दै आएका छन् र हाल ५० भन्दा बढी बाख्रा
पालेका छन् । गाउँपालिकाले गत वर्ष सतुवा खेती गरिएको बारीमा घेराबार गर्न रु एक लाख
अनुदान सहयोग उपलब्ध गराएको वडाध्यक्ष अमर छन्त्यालले जानकारी दिए ।

सतुवाको बिरुवा सुरक्षित राख्न प्लास्टिक टनेल निर्माण गर्न सके तापक्रम सन्तुलन राख्न
र हिउँ, असिना तथा रोगकीराबाट जोगाउन सहयोग पुग्ने रोकाको अपेक्षा छ । औषधीय रूपमा 
प्रयोग हुने सतुवा पेट र घाँटी दुख्दा, सर्पले टोकेको तथा विष सेवन गरेको अवस्थामा 
प्रयोग गर्ने गरिन्छ।
