# बाँझो जमिनमा चियाखेती, रेशगाउँ बन्यो ‘चिया गाउँ’

- Link: https://merosath.com/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%9d%e0%a5%8b-%e0%a4%9c%e0%a4%ae%e0%a4%bf%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80-%e0%a4%b0%e0%a5%87/
- Published: ६ महिना अगाडि
- Author: umesh sigdel

ढोरपाटन (बागलुङ)। बागलुङको काठेखोला गाउँपालिका–७ रेशगाउँमा बढ्दो बसाइँसराइका कारण
खेतीयोग्य जमिन बाँझो बन्दै गएको थियो । खाली जमिन झाडीले ढाकिन थालेपछि वडाध्यक्ष 
प्रेम लामिछानेले चियाखेतीको योजना अघि सारे । अहिले यही योजना गाउँको आयआर्जनको बलियो
माध्यम बनेको छ भने रेशगाउँको पहिचान नै “चिया गाउँ”का रूपमा स्थापित हुन थालेको छ ।

सात वर्षअघि सुरु गरिएको चियाखेती अहिले राम्रोसँग फस्टाएको छ । सुरुमा ताराखोला गाउँपालिकाको
सिरुबारीबाट करिब ३० हजार चियाका बिरुवा ल्याएर परीक्षणका रूपमा रोपिएको थियो । सुरुमा
धेरैले यसबाट आम्दानी हुनेमा विश्वास नगरे पनि बिरुवा राम्रोसँग बढ्दै गएपछि स्थानीयमा
आशा पलाएको थियो ।

पहिलो चरणमा जनकल्याण आधारभूत विद्यालयको ३५ रोपनी जग्गामा चियाखेती सुरु गरिएको थियो।
अहिले गाउँका विभिन्न खाली तथा बाँझो जमिनमा झाडी फाँडेर चियाखेती विस्तार गरिएको छ।
हाल रेशगाउँको टिङरिङ, बौर र फलायडाँडालगायत क्षेत्रमा करिब ३०० रोपनीमा चियाखेती भइरहेको
छ ।

वडाध्यक्ष लामिछानेका अनुसार चियाखेती फस्टाएपछि स्थानीय निकै उत्साहित भएका छन् । 
यसले गाउँमा आम्दानी बढाएको मात्र होइन, बसाइँसराइ रोक्नसमेत सहयोग पुगेको छ। अहिले
धेरै स्थानीयले व्यक्तिगत रूपमा पनि चियाका बिरुवा लगाउन थालेका छन् ।

रेश साना किसान सहकारी संस्थामार्फत सुरु गरिएको चियाखेतीमा अहिले करिब २८० परिवार 
आबद्ध छन् । वर्षको नौ महिना चिया टिप्न सकिने र प्रतिकिलो रु दुई हजारसम्ममा बिक्री
हुने गरेको छ । यस वर्ष करिब रु २० लाख बराबरको चिया बिक्री हुने अपेक्षा गरिएको छ ।

उत्पादन राम्रो भए पनि चिया प्रशोधन गर्ने मेसिनको अभाव भने चुनौती बनेको छ । यद्यपि
उत्पादन भएको चियाका लागि बजारको समस्या छैन । यहाँको चिया अहिले बागलुङ, पोखरा र काठमाडौँसम्म
पुग्ने गरेको सहकारीले जनाएको छ ।

स्थानीयका अनुसार चियाखेतीले गाउँमा नयाँ उत्साह ल्याएको छ । पहिले झाडीले ढाकिएको 
जमिन अहिले हरियाली चियाबगानमा परिणत भएको छ, जसले गाउँलाई नयाँ पहिचानसँगै स्थायी 
आम्दानीको आधार दिएको छ । रासस
