# परिपक्व नभएका एभोकाडो नटिप्न धनकुटा नगरपालिकाको आग्रह

- Link: https://merosath.com/%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b5-%e0%a4%a8%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%8f%e0%a4%ad%e0%a5%8b%e0%a4%95%e0%a4%be%e0%a4%a1%e0%a5%8b-%e0%a4%a8%e0%a4%9f/
- Published: २ महिना अगाडि
- Author: मेरो साथ

**धनकुटा ।** एभोकाडो खान योग्य हुने गरी परिपक्व नहुँदै बजारमा बिक्री–वितरण हुन थालेपछि
धनकुटा नगरपालिकाले काँचो तथा अपरिपक्व फल नटिप्न किसान तथा व्यवसायीलाई आग्रह गरेको
छ ।

नगरपालिकाले अपरिपक्व एभोकाडो बजारमा पुग्दा फलको स्वाद र गुणस्तरमा असर पर्नुका साथै
धनकुटाको एभोकाडोप्रति उपभोक्ताको विश्वाससमेत कमजोर हुन सक्ने जनाएको छ । त्यसैले 
परिपक्व र गुणस्तरीय फल मात्र टिपेर बिक्री–वितरण गर्न नगरपालिकाले अनुरोध गरेको हो।

नगरपालिकाका अनुसार एभोकाडो परिपक्व भए–नभएको पहिचान गर्दा फल आफ्नो जातअनुसार उचित
आकारमा पुगेको र पूर्ण रूपमा विकास भएको हुनुपर्छ । केही जातमा बोक्राको रङ हरियोबाट
पहेँलो–हरियो हुँदै जाने भए पनि रङलाई मात्र आधार बनाएर परिपक्वता निर्धारण गर्न नहुने
नगरपालिकाले जनाएको छ ।

फलको आकार, बाहिरी स्वरूप तथा अन्य परिपक्वताका संकेतलाई समेत आधार मानेर मात्र एभोकाडो
टिप्नुपर्ने नगरपालिकाको सुझाव छ । फलभित्रको बिउको बोक्रा पातलो हुँदै गाढा खैरो रङमा
परिवर्तन हुनु पनि परिपक्वताको एउटा संकेत रहेको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख
छ ।

एभोकाडो उत्पादनका लागि परिचित धनकुटामा अपरिपक्व फल बजारमा पठाउँदा तत्काल आम्दानी
भए पनि जिल्लाको एभोकाडोको ब्रान्ड, बजार र उपभोक्ताको विश्वासमा दीर्घकालीन असर पर्न
सक्ने नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले बताए ।

नगरपालिकाले एभोकाडो टिप्दा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ । फललाई तानेर 
वा झटारो हानेर नटिप्न तथा कैँची वा क्लिपर प्रयोग गरी डाँठसहित सावधानीपूर्वक काट्न
सुझाव दिइएको छ ।

त्यसैगरी, टिपिएका फलमा चोटपटक, घर्षण वा दाग नलाग्ने गरी संकलन गर्न तथा फललाई भुइँमा
नखसाल्न नगरपालिकाले अनुरोध गरेको छ । संकलन गरिएका एभोकाडोलाई छायामा सुरक्षित रूपमा
राखी सावधानीपूर्वक ढुवानी गर्नसमेत आग्रह गरिएको छ ।

नगरपालिकाले रोग लागेको, कुहिएको, क्षतिग्रस्त वा अन्य कुनै कारणले गुणस्तरहीन भएका
एभोकाडो बिक्री–वितरण नगर्न किसान तथा व्यवसायीलाई सचेत गराएको छ ।

धनकुटाको एभोकाडोको गुणस्तर र बजारमा कायम रहेको पहिचानलाई जोगाउन किसान तथा व्यवसायीले
जिम्मेवारीपूर्वक परिपक्व फल मात्र बजारमा पठाउनुपर्ने नगरपालिकाको भनाइ छ ।
