# डढेलोले उजाड वन पुनर्जीवनका लागि ड्रोनबाट बीउ छर्ने तयारी

- Link: https://merosath.com/%e0%a4%a1%e0%a4%a2%e0%a5%87%e0%a4%b2%e0%a5%8b%e0%a4%b2%e0%a5%87-%e0%a4%89%e0%a4%9c%e0%a4%be%e0%a4%a1-%e0%a4%b5%e0%a4%a8-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a5%80%e0%a4%b5/
- Published: ७ महिना अगाडि
- Author: मेरो साथ

रसुवा । डढेलोका कारण उजाड बनेको गतलाङ क्षेत्रको वन पुनः हरियाली बनाउने तयारी सुरु
गरिएको छ । यसका लागि डिभिजन वन कार्यालयले आधुनिक प्रविधि प्रयोग गर्दै ड्रोनमार्फत
वनस्पतिका बीउ छर्ने योजना अघि बढाएको छ ।

विसं २०६५ मा लागेको भीषण डढेलोका कारण उक्त क्षेत्रमा सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत
हजारौँ वनस्पति नष्ट भएका थिए । त्यसयता वन पुनर्जीवनको प्रयास भइरहे पनि कठिन भूगोलका
कारण अपेक्षित प्रगति हुन सकेको थिएन ।

डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङका अनुसार दुर्गम र भिरालो भू–भागमा मानव पहुँच
कठिन भएकाले ड्रोन प्रयोग गरी बीउ छर्ने योजना बनाइएको हो । स्थानीय हावापानी अनुकूल
वनस्पतिका बीउ सङ्कलन कार्य तीव्र रूपमा भइरहेको छ भने आगामी जेठको अन्तिम सातादेखि
बीउ छर्ने काम सुरु गरिने तयारी छ । यस अभियानका लागि इसिमोड, वन विज्ञान अध्ययन संस्थान
र डिभिजन वन कार्यालयबीच सहकार्य भएको छ ।

डढेलोबाट प्रभावित ४५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा १०० हेक्टर क्षेत्रमा बीउ छर्ने
लक्ष्य राखिएको छ । आगलागीका कारण करिब १६ हजार सल्ला र अन्य बहुमूल्य प्रजातिका रुख
नष्ट भएका थिए ।

वन पुनःस्थापनाअन्तर्गत हालसम्म ३० हजारभन्दा बढी बिरुवा रोपिएको छ, जसमा २५ हजार बिरुवा
रसुवागढी जलविद्युत् आयोजनाले उपलब्ध गराएको हो । यद्यपि, डढेका रुखको उचित व्यवस्थापन
नहुँदा वन पुनर्जीवनमा ढिलाइ भएको बताइएको छ ।

हाल यस क्षेत्रका विभिन्न गाउँहरू-थुमन, तातोपानी, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, नेशिङ,
करुम्राङ, कटुन्जे र डाँडागाउँ-वनसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । साथै, ६८ वटा सामुदायिक
वनमार्फत संरक्षणको काम अघि बढाइएको छ ।

वन कार्यालयले डढेलो नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको
छ । भिरालो भूगोल, हुरीबतास र दुर्गम वनक्षेत्रका कारण आगलागी नियन्त्रण अझै चुनौतीपूर्ण
रहेको जनाइएको छ ।
