# ट्रम्पले हटाए महान्यायाधिवक्ता, आर्मी चिफलाई पनि राजीनामा दिन आग्रह

- Link: https://merosath.com/%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a5%87-%e0%a4%b9%e0%a4%9f%e0%a4%be%e0%a4%8f-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a7/
- Published: ७ महिना अगाडि
- Author: मेरो साथ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट
हटाएका छन् । बोन्डीको स्थानमा उनका पूर्व उपमहान्यायाधिवक्ता टोड ब्लान्चलाई नियुक्त
गरिने भएको छ ।

यो जानकारी ट्रम्प आफैंले ट्रुथ सोसल सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

बोन्डी ट्रम्प प्रशासनकी लामो समयदेखि निकट सहयोगी र कट्टर समर्थक मानिन्थिन् । ट्रम्प
प्रशासनबाट पदमुक्त गरिएकी उनी दोस्रो उच्च अधिकारी हुन् । यसअघि मार्चमा गृह सुरक्षा
प्रमुख क्रिस्टी नोमलाई पदमुक्त गरिएको थियो ।

पदमुक्त भएपछि बोन्डीले महान्यायाधिवक्ताको भूमिका निर्वाह गर्न पाउनु ‘जीवनकै ठूलो
सम्मान’ भएको भन्दै अब आफ्नो जिम्मेवारी ब्लान्चलाई हस्तान्तरण गर्ने बताएकी छन् । 
साथै, निजी क्षेत्रमा पनि ट्रम्प प्रशासनका पक्षमा काम जारी राख्ने उनको भनाइ छ ।

**रक्षामन्त्रीले मागे आर्मी चिफको राजीनामा**

यसैबीच इरानसँगको जारी युद्धका बीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आर्मी चिफ अफ
स्टाफ र्‍यान्डी जर्जलाई राजीनामा दिन भनेका छन् ।

पेन्टागनका मुख्य प्रवक्ता सिन पार्नेलले सामाजिक सञ्जालमार्फत् जर्ज अमेरिकी सेनाको
४१ औं चिफ अफ स्टाफको पदबाट निवृत्त हुन लागेका जानकारी दिएका छन् ।

![](https://www.onlinekhabar.com/wp-content/uploads/2026/04/US-Army-Chief-900.jpg)

बीबीसीमा प्रकाशित समाचारमा जर्जसँग राजीनामा मागिनुको कारणबारे नखुलेको उल्लेख छ ।

समाचारमै रक्षा विभागका नाम नखुलाइएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भनिएको छ,‘
हामी जजर्नको सेवाका लागि आभारी छौं । तर, अब सेनामा नेतृत्व परिवर्तनको समय आइसकेको
छ ।’

जर्जको राजीनामा पछि अब आर्मी भाइस चिफ अफ स्टाफ जनरल क्रिस्टोफर ला–नेभ कार्यवाहक 
आर्मी चिफ अफ स्टाफ बन्ने अमेरिकी मिडियाले जनाएका समाचारमा उल्लेख छ ।

अमेरिकी आर्मी चिफको कार्यकाल चार वर्षको हुन्छ । जर्जले वेस्ट प्वाइन्ट मिलिट्री एकाडेमीमा
अध्ययन गरेका थिए । उनलाई सन् २०२३ मा पूर्वराष्ट्रपति जो बाइडेनले आर्मी चिफ अफ स्टाफमा
नियुक्त गरेका थिए ।

जर्जले यसअघि खाडी युद्ध र पछि इराक तथा अफगानिस्तानसँगको संघर्षमा समेत सेवा गरेका
थिए ।
