# कोशी र बागमतीमा ‘अति भारी’ वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

- Link: https://merosath.com/%e0%a4%95%e0%a5%8b%e0%a4%b6%e0%a5%80-%e0%a4%b0-%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a4%ae%e0%a4%a4%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a4%e0%a4%bf-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a5%80/
- Published: २ महिना अगाडि
- Author: मेरो साथ

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर सरेकाले हाल देशभर
मौसममा बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको
छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका पहाडी तथा हिमाली भूभागका
धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा
भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभरको मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी 
प्रदेशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

विशेषगरी रातिको समयमा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा**‘
अति भारी’ वर्षा** हुन सक्ने चेतावनी दिइएको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका अन्य
भूभागसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको
छ। मधेस प्रदेशलगायत बाँकी भूभागमा भने हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

भारी तथा अति भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा **बाढी, पहिरो, भूक्षय तथा गेग्रान
बहाव (डेब्रिस फ्लो)** को जोखिम उच्च रहने महाशाखाले जनाएको छ। वर्षाका कारण कृषि तथा
पशुपालन, पर्यटन, सडक तथा हवाई यातायात र अन्य दैनिक गतिविधि प्रभावित हुन सक्ने भएकाले
आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा आग्रह गरिएको छ।

महाशाखाले विशेषगरी नदी तथा खोलानालाको आसपास, पहिरोको जोखिम भएका क्षेत्र र कमजोर 
भौगोलिक संरचना भएका स्थानमा बसोबास गर्ने नागरिकलाई मौसम तथा बाढीसम्बन्धी सूचना नियमित
रूपमा हेर्न र जोखिम देखिएमा सुरक्षित स्थानतर्फ जानसमेत अनुरोध गरेको छ।
