# इलाममा अदुवाको मूल्य आकर्षक, किसान व्यावसायिक खेतीतर्फ

- Link: https://merosath.com/%e0%a4%87%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%86%e0%a4%95%e0%a4%b0/
- Published: ३ महिना अगाडि
- Author: मेरो साथ

इलाम । अदुवाको मूल्य बढेपछि इलामका किसान अदुवाखेतीतर्फ थप आकर्षित भएका छन्। उत्पादनका
बेला राम्रो मूल्य पाउनुका साथै माउ र बच्चा अदुवाबाट छुट्टाछुट्टै आम्दानी हुने भएपछि
किसानले अन्य बाली छाडेर अदुवाखेती विस्तार गर्न थालेका हुन् ।

माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बिक्रीबाट रु तीन लाख
१५ हजार आम्दानी गरेका थिए। उनले पाँच रोपनी क्षेत्रफलमा अदुवाखेती गरी ९० मन उत्पादन
गरेका थिए । उत्पादित अदुवामध्ये २० मन बीउका लागि राखेर बाँकी अदुवा प्रतिमन रु चार
हजार ५००का दरले बिक्री गरेका थिए ।

गत वर्षको मूल्य र उत्पादनबाट उत्साहित लिम्बूले यस वर्ष पनि २० मन बीउ रोपेका छन् ।
यसपटक करिब १२० मन अदुवा उत्पादन गर्ने लक्ष्य राखेका उनले गत वर्षकै हाराहारीमा मूल्य
पाए रु पाँच लाखभन्दा बढी आम्दानी गर्ने अपेक्षा गरेका छन् ।

माङसेबुङ–२ कै किसान राजकुमार राईले गत वर्ष ५० मन अदुवा बिक्री गरेर रु दुई लाखभन्दा
बढी आम्दानी गरेका थिए । यस वर्ष उनले २० मन बीउ रोपेका छन् । अदुवाबाट हुने आम्दानीले
परिवारको घरखर्च तथा छोराछोरीको पढाइ खर्च धान्दै आएका राईले यस वर्ष खेती विस्तार 
गरेकाले आगामी वर्षदेखि केही रकम बचत गर्न सकिने अपेक्षा गरेका छन् ।

माङसेबुङ-३ का किसान तेजु राईले पनि यस वर्ष ६० मन अदुवा रोपेका छन् । उनले १० रोपनीमा
व्यावसायिक अदुवाखेती सुरु गरेका हुन् । किसानमा अदुवाखेतीप्रति आकर्षण बढेपछि आफू 
पनि व्यावसायिक उत्पादनमा लागेको उनले बताए । आकर्षक आम्दानी हुन थालेपछि धानलगायत 
अन्य बाली छाडेर किसान अदुवाखेतीतर्फ लाग्न थालेको उनको भनाइ छ ।

उत्पादनको समयमा प्रतिमन रु चार हजार ५०० सम्म पुगेको अदुवाको मूल्य अहिले माउ अदुवामा
अझ बढेको छ । हाल माउ अदुवा प्रतिमन रु सात हजारसम्म पुगेको कृषि ज्ञान केन्द्रले जनाएको
छ । माउ अदुवा झापाको धुलाबारीमा प्रतिमन रु सात हजारसम्म कारोबार भइरहेको छ भने इलाममा
करिब रु छ हजारमा किनबेच भइरहेको स्थानीय व्यापारी राम जवेगूले बताए ।

माउ र बच्चा अदुवाको छुट्टाछुट्टै मूल्य पाइने भएकाले किसानलाई अदुवाखेतीबाट दोहोरो
फाइदा हुने व्यापारी जवेगूको भनाइ छ ।

इलामका किसानले ठूलो (भैँसे), मझौला र सानो गरी तीन प्रकारका अदुवाखेती गर्दै आएका 
छन् । भदौसम्म माउ अदुवा बिक्री हुने भए पनि अदुवाको मुख्य उत्पादन तथा बिक्रीको समय
कात्तिकदेखि जेठसम्म रहने गरेको छ ।

इलाम बजारसँगै बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानाबारी
र हर्कटेललगायतका बजारमा जिल्लामा उत्पादित अदुवा खपत हुने गरेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार इलाममा हाल तीन हजार २२१ हेक्टर क्षेत्रफलमा व्यावसायिक
अदुवाखेती हुँदै आएको छ । गत वर्ष जिल्लामा ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको
थियो । अदुवाको मूल्यमा देखिएको आकर्षणसँगै यस वर्ष खेतीको क्षेत्रफल र उत्पादन अझ 
बढ्ने अपेक्षा गरिएको छ ।
